चिनलाई सहयोग गर्न तयार छ अमेरिका : ट्रम्प

२०७७ असार ७ आइतबार, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीच देखिएको सीमा विवाद समाधानका लागि सहयोग गर्न तयार रहेको बताएका छन् । ट्रम्पले पछिल्लो समय दुई देश बीच देखिएको सीमा विवादबारे भारत–र चीनसँग कुरा गरिहेको पनि बताएका छन् ।

राष्ट्रपति भवन ह्वाइटहाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भने, ‘यो निकै कठिन परिस्थिति हो । हामीले भारतसँग कुराकानी गरिरहेका छौं । हामीले चीनसँग पनि कुराकानी गरिरहेका छौं ।’ लद्दाखको गलवान उपत्यकामा भएको भारत–चीन झडपलाई संकेत गर्दै भने, ‘त्यहाँ उनीहरुबीच निकै ठूलो समस्या छ । दुवै आमनेसामने आए । अब अगाडि कसरी बढ्छ हामी हेर्छौं । हामी भारत र चीनबीचको समस्या सुल्झाउनका लागि सहयोग गर्न चाहन्छौं ।’

गत सोमबार राति लद्दाखको गलवान सीमामा भएको झडपमा एक अधिकृतसहित २० भारतीय सैनिकको मृत्यु भएको छ । चीनतर्फ पनि हताहतीको कुरा आए पनि उसले आधिकारिक तथ्यांक सार्वजनिक गरेको छैन ।

ट्रम्पले यसअघि पनि भारत र चीनबीचको पछिल्लो तनावलाई कम गर्नका लागि अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका थिए । उनले भारत र चीनलाई सीमा विवाद सुल्झाउनका लागि अमेरिकाले मध्यस्थताको भूमिका निर्वाह गर्न चाहेको र सक्षम रहेको बताएका थिए । उनले चीनसँगको तनावलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मूड खराब’ भएको पनि बताएका थिए । तर ट्रम्पको प्रस्ताव भारत र चीन दुवै देशका विदेशमन्त्रीले अस्वपस्कार गरेका थिए ।

लद्दाख सीमामा भएको हिंसात्मक क्षडपपछि उत्पन्न तनाव कम गर्न भारत र चीनबीच लगातार सैन्य र कूटनीतिक स्तरबाट वार्ता भइरहेको छ । दुवै देशले मेजर जर्नेल तहको सैन्य वार्ता र विदेशमन्त्रीस्तरको वार्ताबाट सीमामा देखिएको तनाव कम गर्न सहमत भएको बताएका छन् । बुधबार भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोन कुराकानी गरेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार