मलेसियालाई उछिन्यो नेपालले, नर्वेलाई आज पछि पार्दै

२०७७ असार ७ आइतबार, एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण खराब अवस्था झेलिरहेका मुलुकको सूचीमा नेपाल थप अगाडि बढेको छ। शुक्रवार खराबतिरको यात्रामा अस्ट्रेलियालाई पछि पारेको नेपालले शनिवार साँझ मलेसिया र सुडानलाई उछिनेको छ।

खराब मुलुकको सूचीमा नेपाल ६७ औं स्थानमा उक्लिएको छ। आज नेपालले नर्वेलाई पछि पार्ने देखिन्छ। बिहानै गण्डकी प्रदेशमा १६ जना नयाँ संक्रमित थपिएका छन्। त्यसबाहेक नै नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगिसकेको छ।

नेपालले पछि पारेको मलेसियामा संक्रमितको संख्या ८ हजार ५ सय ५६ जना रहेका छन्। त्यसैगरी सुडानमा संक्रमितको संख्या ८ हजार ४ सय १६ रहेको छ । यता खराबको सूचीमा नेपालभन्दा एक कदम अगाडि रहेको नर्वेमा संक्रमितको संख्या ८ हजार ७ सय ४२ रहेको छ। नेपालभन्दा १ सय ३७ जना मात्र बढी संक्रमित भेटिएका छन् नर्वेमा। आज थपिने संक्रमितको संख्याले खराबतिरको यात्रामा नेपाल थप एक कदम अगाडि बढ्ने देखिन्छ। नर्वेभन्दा अगाडि मोरक्को रहेको छ। त्यहाँ संक्रमितको संख्या ९ हजार ८ सय ३९ रहेको छ।

सबैभन्दा खराब अवस्थामा अमेरिका छ। खराबतर्फको सूचीमा ब्राजिल दोस्रो स्थानमा छ भने रसिया तेस्रो र भारत चौथो स्थानमा रहेको छ। मृत्यु हुनेको संख्याको आधारमा रसियाले सबैभन्दा बढी नियन्त्रण गर्न सकेको देखिन्छ, कोरोना भाइरसलाई।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार