नेकपा विवाद विस्फोटक मोडमा, केपी ओलीविरुद्ध अविश्वास प्रस्तावको तयारी

२०७७ कार्तिक १५ शनिबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक कलह फेरि चुलिएको छ । कलह चुलिँदै जादा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनीविरोधी गठबन्धनले फेरि पनि सत्ताच्यूत गर्नेसम्मको तयारी थालेको छ।

केन्द्रीय कमिटिको बैठक डाकेर केपी शर्मा ओलीलाई सरकारबाट फिर्ता बोलाउनेदेखि अविश्वासको प्रस्ताव दर्ता गर्नेसम्मको तयारी पार्टीभित्रको प्रचण्ड–नेपाल समूहले गरिरहेको छ।

यसका लागि प्रचण्ड–नेपाल समूहले चरण–चरणमा छलफल गरिरहेको छ।

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसम्मको तयारी थालिएको सूचना पाएपछि बालुवाटारले पनि ओली बचाउ रणनीति अख्तियार गरेको छ।

प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक यात्राका क्रममा संकटका शारथी मुख्यमन्त्रीहरु शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङसम्मलाई प्रदेशबाट काठमाडौँ झिकाएर विवाद मत्थर पार्ने अभियानमा सक्रिय पार्नुभएको छ।

दुवै पक्षको तयारी हेर्दा नेकपा विवाद फेरि गम्भीर मोडमा पुगेको र जुनसुकै बेला विस्फोट हुनसक्ने सम्भावना रहेको अनुमान गरिएको छ ।

वरिष्ठ नेता झलनाथ खनालले अब प्रधानमन्त्री केपी शर्मा ओली सच्चिनुहुन्छ भन्ने कुुनै सम्भावना र विश्वास नरहेकोले उहाँले पार्टीको निर्णय मान्नुपर्ने बताउनुभयो । उहाँले पार्टीको विधि, विधान र पद्धती सबैले मान्नुपर्ने विषय नै संकट समाधानको एकमात्रै सुत्र रहेको बताउनुभयो ।

अविश्वासको प्रस्तावबारे आफूलाई जानकारी नरहेको बताउनुभएका वरिष्ठ नेता खनालले केपी ओलीले पार्टीको निर्णय भने मान्नै पर्ने बताउनुभयो।

केपी ओलीलाई बारम्बार सच्चिन मौका दिँदा पनि नसच्चिएको भन्दै अब अविश्वासको प्रस्ताव दर्ता गर्नेसम्मको तयारी भइरहेपछि बालुवाटारले त्यसको सामना गर्न विभिन्न अस्त्र प्रयोग गरिरहेको छ।

प्रधानमन्त्री ओलीले प्रचण्ड समूहलाई एक्ल्याएर माधवकुमार नेपालसँग मिलेर जाने प्रस्ताव गर्नुभएको छ।

तर दसैँकोबीचमा दुईपटक ओलीसँग भएको छलफलमा माधव नेपालले मिलेर जान नसकिने स्पष्ट सन्देश ओलीलाई दिएको बुझिएको छ।

नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले सबैले मिलेर जाने भन्दा भन्दै पनि प्रधानमन्त्री ओली आफैले चिल्न थालेपछि पार्टीमा फेरि गम्भीर संकट आइलागेको बताउनुभयो।

उहाँले आवश्यक परे ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न कुनै समस्या नरहेको बताउनुभयो। तर आफूहरु अहिले पनि ओलीले सच्चिएर अघि बढ्नुपर्ने मान्यतामा रहेको बताउँदै हुँदै भएन भने अश्विासको प्रस्ताव ल्याएर पनि ओलीलाई हटाइने संकेत दिनुभयो ।

यसअघि विभाजनको डिलसम्मै पुगेको नेकपाको विवाद भदौ २५ गतेको १५ बुँदे युद्धविरामपछि तत्कालका लागि समाधान भएको थियो।

तर त्यसपछि ओलीले लगातार सहमति उल्लघन गर्दै अघि बढेपछि विवाद कहाँसम्म पुगेको छ भने दुई अध्यक्षबीच अहिले संवादहिनताको अवस्था आइलागेको छ।

ओलीले संवादमा आउन पटक–पटक आग्रह गर्दा पनि अर्का अध्यक्ष दाहाल बालुवाटार जान मान्नुभएको छैन।

संवादमा आउनै नचाहेपछि ओलीले नेताहरु सुवास नेम्वाङ, शंकर पोखरेल, र प्रदीप ज्ञवालीलाई दूतका रुपमा खुमलटार पठाएर प्रचण्डलाई फकाउने प्रयास गर्नुभएको छ।

तर प्रचण्डले सहमति उल्लघंन गरिरहने ओलीसँग अब संवादको कुनै अर्थ नरहेको जवाफ ओलीका दूतलाई दिएपछि बालुवाटार थप सशंकित बनेको छ।

तर ओली समूहका नेताहरुले भने प्रचण्ड आइसोलेसनमा भएका कारण मात्रै दुई अध्यक्षबीच संवाद हुन नसकेको जिकिर गरेका छन्।

नेता सुवासचन्द्र नेम्वाङले आइसोलेसन अवधि भर्खरै सकिएको र अब छिट्टै दुई अध्यक्षबीच संवादहितनाको अन्त्य हुने दाबी गर्नुभयो।

ओलीसँग यसअघि पनि पटक–पटक भएको सहमतिमा धोका भएको भन्दै अब पनि सहमति गरेर झुक्नुको कुनै अर्थ नरहने निष्कर्ष प्रचण्ड–नेपाल समूहले निकालेको छ।

पछिल्लो समय मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद, गोयल प्रकणर र सरकारका विभिन्न नियुक्तीलाई लिएर ओलीसँग उनीइतर समूह क्रुद्ध बनेको हो।

त्यसैले अविश्वासको प्रस्ताव दर्ता गरेर भए पनि ओलीलाई हटाउने अन्तिम रणनीतिमा उनीहरु जुटेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार