अस्ट्रेलियाबाट फर्केनेलाई तिराइयो महँगो शुल्क

२०७७ असार ८ साेमबार, एजेन्सी । अस्ट्रेलियामा १३ वर्षदेखि हवाई टिकट व्यवसाय गर्दै आएका व्यवसायी भीम न्यौपानेले सरकारले तोकेको भन्दा कम भाडामा नेपालीलाई अस्ट्रेलियाबाट उडाउन सकिने भन्दै नेपालस्थित वायुसेवा निगममा मेलबर्नबाट पटकपटक सम्पर्क गरे ।

आफूहरू स्वयंसेवककै रूपमा कुनै फाइदा नलिई सहयोग गर्न तयार रहेको भन्दै नेपाल वायुसेवा निगमलाई दुई पटकसम्म इमेलसमेत गरे । उनले एनआरएनमार्फत दूतावासलाई समेत सरकारले तोकेको भन्दा सस्तो भाडामा उडाउन सकिने भन्दै जानकारी गराए । न उनको निगमका अधिकारीसँग सम्पर्क नै हुन सक्यो न निगमले इमेलको उत्तर पठायो ।

सिड्नीबाट एक दशकदेखि यस्तै व्यवसाय गर्दै आएका अर्का व्यवसायी इर्साद अहमदले समेत सरकारले तोकेको भन्दा ५ सय डलर कम रकममा नेपाली नेपाल फर्काउन सकिने भन्दै एनआरएनमार्फत दूतावासलाई जानकारी गराए । तर उनको आग्रहबारेमा समेत उनले कुनै प्रतिक्रिया पाएनन् ।

सरकारको निर्णयअनुसार अस्ट्रेलियाबाट पहिलो चरणमा यही जुनको २३ र २७ मा दुइटा उडानमार्फत नेपालीलाई फिर्ता लगिँदै छ । नेपाली ध्वजावाहक विमानबाट लैजाने भन्दै सरकार आफैंले उनीहरूका लागि २ हजार ३ सय ५० अस्ट्रेलियन डलर एकतर्फी भाडा तोकिदिएको छ । यहाँ रहेका व्यवसायीले १ हजार ७ सय ५० डलरसम्ममा उडाउन सकिने बताइरहेका भए पनि नेपाल फर्कन चाहने नेपालीले भने सरकारले तोकेकै भाडा तिर्नुपर्ने भएको छ । दूतावासका अनुसार करिब १ हजार ३ सयले नेपाल फर्कनका लागि आवेदन दिएका छन् जस मध्य दुईवटा विमानमार्फत ५ सय २० जना नेपाल फर्कंदै छन् । नेपाल फर्कन चाहने नेपाली भने भाडाभन्दा पनि आफू नेपाल फर्किनु जरुरी भएकाले महँगो भन्ने थाहा हुँदाहुँदै आफूहरू सरकारी भाडा दर नै तिर्न बाध्य भएको बताउँछन् ।

व्यवसायीकै भनाइ मान्ने हो भने अस्ट्रेलियाले आफ्ना नागरिक उद्धार गर्दा लगाएको भाडादर हेर्ने हो भने सरकारले लगाएको भाडादरलाई महँगो भन्न मिल्दैन । अस्ट्रेलियाले आफ्ना नागरिकको उद्धार गर्दा १ हजार ६ सय ५० अमेरिकी डलर (करिब २ हजार ३ सय ९० अस्ट्रेलियन डलर) भाडा तिराएको थियो जुन अहिलेको नेपाल सरकारको भन्दा ३५ डलर बढीे हो । तर नेपालबाट अस्ट्रेलिया आउने विमानमा अन्य देशका यात्रु चढाएर ल्याइने भएकाले नेपालीले तिरेको भाडा निकै महँगो भएको व्यवसायीको भनाइ छ । सरकारले चार्टर विमानको भाडा तय गरेर व्यावसायिक उडान तय गरेको उनीहरूको भनाइ छ ।

एनआरएन अस्ट्रेलियाका पदाधिकारीहरूसमेत भाडादर महँगो भएको र यसलाई कम गरेर उद्धार गर्न दूतावास र सरकारलाई आग्रह गरिएको सुनाउँछन् । एनआरएनएले दुवै रुटमा यात्रु ल्याउने भएपछि नेपालबाट ल्याइने यात्रुबाट संकलित रकमअनुसार हिसाब गरेर बाँकी रकम यात्रुलाई फिर्ता गर्न सरकारसँग माग गरेको छ । ‘हामीले केही दिनअघि मात्रै दूतावासमार्फत सरकार र वायुसेवा निगमलाई नेपालबाट यात्रु लिएर आउने भएपछि सो यात्राबाट उठेको रकममा यहाँका नेपालीबाट उठाएको भाडादर कम गरेर फिर्ता दिनुपर्ने माग गरेका छौं,’ अध्यक्ष केशव कँडेलले भने ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल पनि भाडादर महँगो भएको स्विकार्छन् । ‘हो, भाडादर महँगो देखिएको छ । यसबारे नेपाल सरकारलाई हामीले जानकारीसमेत गराएका हौं,’ दाहालले भने । सरकारले निर्णय गरिसकेपछि आफूहरूले त्यसलाई कार्यान्वयनमात्र गरेको उनको भनाइ छ । उनी दूतावासमा कुनै पनि व्यवसायीबाट सस्तोमा नेपाल लैजान सकिनेबारेमा औपचारिक रूपमा जानकारी नगराइएको समेत जिकिर गर्छन् ।

हवाई टिकेटिङमा संलग्न व्यवसायीहरू भविष्यमा यस्तै कुनै उडान हुने भए आफूहरू फाइदा नलिईकन जतिसक्दो सस्तोमा उडान गराउन तयार रहेको बताउँछन् । तर उनीहरू यसका लागि सरकारले अनुमति दिनुपर्ने जिकिर गर्छन् । ‘सस्तोमा आफ्ना नागरिक नेपाल फर्काउन सकिने सम्भावना हुँदाहुँदै अहिलेको जस्तो कठिन परिस्थितिमा समेत महँगो भाडा तोकेर आउने भए आऊ नत्र उतै बस भन्नु व्यावहारिक होइन,’ एक व्यवसायीले भने ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार