विश्वमा काेराेनाले ज्यान गुमाउनेको संख्या १२ लाख नाघ्यो, ४ करोड ६३ लाख संक्रमित

२०७७ कार्तिक १६ आइतबार, एजेन्सी । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ४ करोड ६३ लाख नाघेको छ भने १२ लाखभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ६३ लाख ७३ हजार ७७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १२ लाख १९३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ३ करोड ३४ लाख ८३ हजार ५१६ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ३६ हजार ७२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ९४ लाख २ हजार ५९० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८६ हजार २९३ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ९१४ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २२ हजार १४९ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ४६८ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ४६ हजार ७१५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८१ लाख ८२ हजार ८८१ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५५ लाख ३५ हजार ६०५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३४० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ५९ हजार ९०२ पुगेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार