सिरी एः रोनाल्डो चम्किँदा युभेन्ट्सको सहत जित

२०७७ कार्तिक १७ साेमबार, एजेन्सी । इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई उसैको मैदानमा ४-१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै अल्भारो मोराटा र एड्रियन राबिओटले एक एक गोल गरे । घरेलु टोलीका टोमासो पोबेगाले एक गोल फर्काए ।

खेलको १४औं मिनेटमा युभेन्ट्सले अग्रता लिएको थियो । मोरोटाले म्याककेनिएको पासमा गोल गर्दै युभेन्टसलाई १-० को अग्रता दिलाए । ३२औं मिनेटमा टोमासोले बार्टोलोमेइको पासमा गोल गर्दै पहिलो हाफमा खेल १-१ को बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा युभेन्ट्सले थप तीन गोल गर्‍यो । मैदान प्रवेश गरेका ३ मिनेट नबित्दै रोनाल्डोले गोल गरे । ५६औं मिनेटमा पाउलो डिबालाको स्थानमा मैदान प्रवेश गरेका उनले ५९औं मिनेटमा मोरोटाको पासमा गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए ।

६७औं मिनेटमा चेइसाको पासमा रबिओटले गोल गर्दा खेल ३-१ को स्थितिमा आएको थियो । तर, ७६औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ४-१ को फराकिलो जित दिलाएका हुन् ।

यस जितसँगै युभेन्टस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । युभेन्टसले ६ खेलमा ३ जित र ३ बराबरीसँगै १२ अंक जोडेको छ । शीर्षस्थानमा रहेको एसी मिलानले ६ खेलमा ५ जित र १ बराबरीसँगै १५ अंक जोडेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार