काेराेनाले ब्राजिलमा ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो

२०७७ असार ८ साेमबार, एजेन्सी। अमेरिकापछि कोरोना भाइरसबाट दोश्रो प्रभावित ब्राजिलमा भाइरसका कारण हुने मृत्यु ५० हजार नाघेको छ । रोयटर्समा प्रकाशित समाचारका अनुसार आइतबार मृतक संख्या ५० हजार नाघेको छ। भाइरसको इपिसेन्टर बनिरहेको ल्याटिन अमेरिकी देशमा संक्रमित संख्या पनि भयावहरूपमा बढी रहेको छ। हालसम्म त्यहाँ १० लाख बढी मानिसमा संक्रमण पुष्टि भइसकेको छ।

 

बढ्दो कोरोना संक्रमणले त्यहाँ राजनीतिक र आर्थिक संकट गहिरिदैं गएको छ। स्वास्थ्य विज्ञहरूले त्यहाँ परीक्षणको अनुपात कम रहेकाले वास्तविक संख्या अझ धेरै हुनसक्ने बताउँदै आएका छन्। रोयटर्सका अनुसार ब्राजिलको संक्रमित संख्या १० लाख ८५ हजार ३८ पुगिसकेको छ। यस्तै त्यहाँको कुल मृतक संख्या आइतबारसम्म ५० हजार ६ सय १७ पुगेको छ। दक्षिण अमेरिकी महादेशमा रहेको यस देशमा प्रतिदिन औषत हजारको संख्यामा मानिसहरूले कोरोनाका कारण ज्यान गुमाइरहेका छन्।

ब्राजिलले आफ्नो मुलुकमा फरवरी २६ मा पहिलो पटक कोरोना संक्रमित भेटिएको जनाएको छ। त्यसयता व्यापकरूपमा फैलिएको संक्रमणले राष्ट्रपति जाइर बोल्सनारूको लोकप्रियतालाई घटाउँदै लगेको छ भने वर्षौदेखि वृद्धिको बाटोमा रहेको अर्थ व्यवस्था पतन हुन सक्ने त्रास बढ्दै गएको छ। कोरोना रोकथामका लागि राष्ट्रपति जाइरको रवैयाको देशभित्र र बाहिर चर्को आलोचना हुँदै आएको छ।

भाइरस रोकथाममा उनको रवैया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तो भएकाले उनलाई ‘ट्रपिकल ट्रम्प’को उपमा दिइएको छ। कोरोना भाइरसको रोकथाममा उनको उदासिनताका कारण दुई जना स्वास्थ्यमन्त्रीले संकट सुरू भएयता पद छाडिसकेका छन्।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार