उपप्राध्यापक चलाउनेमाथिको आक्रमणः विभागीय प्रमुख लुइँटेल समूहको विगत र वर्तमानको नियत

खड्ग शर्मा   

 

२०७७ कार्तिक १७ साेमबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयकै परिसरमा समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमाथि भएको कुटपिटको दुःखद घटनाले आम प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुलाई चिन्तित तुल्याएको छ भने त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक छविमाथि गम्भीर प्रश्न उठाएको छ ।

उपप्राध्यापक चलाउनेमाथि भएको घटना अत्यन्तै दुःखद छ । तर यो घटना जुन पृष्ठभूमिमा भएको छ त्यसको विश्लेषण गर्ने हो भने यो घटना सिँगो विश्वविद्यालय, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको भविष्यमाथि प्रश्न उठाउने खालको छ । समाजशास्त्र केन्द्रीय विभागमा हालै शत्ता र शक्तिको आडमा त्रिवि पदाधिकारीलाई ठूलो दवाव दिई अवैधानिक रुपमा नियुक्ति पाएका विभागीय प्रमुख युवराज लुइँटेल समाजशास्त्र र मानवशास्त्र विषयको अलग अलग केन्द्रीय विभाग बनाउने आन्दोलन र विभाजन हुने पृष्ठभूमिमा क्रियाशील रही सोहीसमयदेखि नै अनेकन विवाद र लफडासमेत गर्दै यहाँसम्म आई पुगेको देखिन्छ । जतिवेला समाजशास्त्र विषयसँग सम्बन्धित प्राध्यापक र विद्यार्थीहरुको संयुक्त आन्दोलनबाट त्रिवि पदाधिकारीले समाजशास्त्र र मानवशास्त्र विषयको अलग अलग केन्द्रीय विभाग विभाजनका लागि प्रतिवेदन पेश गर्न समिति गठन गर्यो त्यही समयदेखि नै असहमति र असहयोग गर्न थालेका हुन । त्रिवि पदाधिकारीले दुवै विषयको अलग अलग केन्द्रीय विभाग बनाउनका लागि गठित समितिमा आफू नरहेकोले समाजशास्त्र विषयको अलग केन्द्रीय विभाग बनाउने विषयमा पनि उनको असहमति र असहयोग रह्यो र त्यहीबाट लुइँटेल विभाग विरुद्ध लाग्दै आएको र विद्यार्थीहरुसँग पनि विवादित हुँदै आएको विभाग अलग गराउने आन्दोलनमा सहभागी एक विद्यार्थी बताउँछन् ।

त्रिविले गठन गरेको समितिले तोकिएको समयभित्र समाजशास्त्र र मानवशास्त्र विषयको अलग अलग केन्द्रीय विभाग बनाउन सिफारिश गरेपछि लुइँटेलको असहयोग रहँदा रहँदै पनि समाजशास्त्र विषयको अलग केन्द्रीय विभाग बन्यो । समाजशास्त्र केन्द्रीय विभाग अलग भएपछि समाजशास्त्र केन्द्रीय विभागको विभागीय प्रमुखमा प्रा.डा. तुलसीराम पाण्डेलाई नियुक्ति गरियो । प्राध्यापक पाण्डेको नियुक्तिपछि लुइँटले विभागमा आफूले भने अनुसार काम गर्नु पर्ने सो नभए आफ्नो कुनै सहयोग नरहने चेतावनी तत्कालीन विागीय प्रमुख तुलसीराम पाण्डेलाई दिएको र सोही अनुसार लुइँटेलको विभाग र विषयप्रतिको असहयोगनेका क्रमिक श्रृङखला अगाडि बढेको एक प्राध्यापकले बताए ।

लुइँटेलले कुनैपनि हालतमा विभागीय प्रमुख तुलसीराम पाण्डेलाई असफल बनाउने र राजीनामा गर्न लगाउने र आफू विभागीय प्रमुख बन्ने दाउमा लागिरहे । यतिसम्म गरे कि विद्यार्थीलाई आफ्नो विषयमा आफैले जानीजानी फेल गराउने र विभागीय प्रमुखलाई दोष दिने अनि विद्यार्थीलाई विभागीय प्रमुखविरुद्ध आन्दोलन गर्न लगाउँथे भन्ने कुरा त्यतिवेलाका विद्यार्थी स्वयमले पनि तथ्यसहित बाहिर ल्याइनै सकेका छन् । यति हुँदा हुँदै पनि तत्कालीन विभागीय प्रमुख पाण्डे सरले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय गोष्ठी र समाजशास्त्रीय सम्मेलनहरु पनि सम्पन्न गर्दै विभाग राम्रोसँग सञ्चालन गरिनै रहनु भयो । तर लुइँटेल समूहले यस्ता सभासम्मेलनमा भाग लिने र सहयोग गर्ने त कता हो कता उल्टै विभागले कार्यक्रम गरकै दिन र सयममा आफ्नो नेतृत्वमा समानान्तर कार्यक्रमहरु सञ्चालन गरि नै रहे । अझ उदेक लाग्दो त के छ भने नेकपा समर्थित समाजशास्त्री भनिने प्राध्यापकहरुले समेत विभाग विरुद्धका यस्ता गैर प्राज्ञिक कार्यक्रममा भाग लिने काम गरे । यसबाट पुष्टिहुन्छ कि यस्ता विश्रृङखलयुक्त कार्यमा लुइँटेलमात्र होइन कि उनको एउटा समूह नै लागि परेको छ । विभागभित्रका असहमति विभागभित्रै हल खोज्ने सल्लाह दिनुको सट्टा त्यो समूह नै यस्ता गतिविधिमा निकृष्ट तरिकाले लागि रहेको र यसबाट आफू दुःखी हुँदै आएको कुरा एक समाजशास्त्री बताउँछन् ।

त्यतिमात्र होइन कि आफूले भनेको नभएको भनी एमफिल र पिएचडीको कक्षासमेत नलिने भनी उक्त तहका कक्षा लिन अस्वीकार गर्ने तर विद्यार्थी उकासेर विभागीय प्रमुखलाई अनावश्यक तनाव दिई असहयोग गरेको एक विद्यार्थीले बताए । एकातिर आफ्नो यो व्यक्तिगत असहयोग छँदैथियो अर्कोतिर विभागमै अध्ययन गर्ने एमए र एमफिलका विद्यार्थीहरुलाई पठनपाठन, प्राप्तांक लगायतका विभिन्न वहानामा उकास्ने र उचाल्ने काम गरी विभाग र विभागीय प्रमुखलाई निरन्तर दुःख दिने काम भयो । यसका वावजुत पनि तत्कालीन विभागीय प्रमुख प्रा.डा. तुलसीराम पाण्डेले प्राज्ञिक मर्यादा र सम्मानका आधारमा विभागका सबै प्राध्यापकहरुलाई एकसाथ लिएर अगाडि बढदा विभागको प्राज्ञिक उचाई बढाउने कामलाई सफलतापूर्वक अगाडि बढ्यो । यसरी विभाग सफलतापूर्वक अगाडि बढेकोमा लुइँटेल समूह असन्तुष्ट रहँदै आएको कुरा पनि एक प्राध्यापकले वताए ।

लुइँटेल आफूभन्दा राम्राृ विषयविज्ञलाई विभागमा कहिल्यै ल्याउन चाहेनन् । यसको प्रमाण केहो भने जब २०७२।०७३ मा त्रिवि सेवा आयोगको परीक्षामा पास भएकाहरुमध्ये केहीले एमफिल र पिएचडी गरेका थिए र विभागले ती व्यक्तिहरुलाई जसरीपनि विभागमा ल्याउन चाहन्थ्यो । तर लुइँटेल आफैले नेतृत्व गरी पटक पटक डेलिगेसन गएर योग्य व्यक्तिहरुलाई विभागमा नपठाउन दबाव दिए । विभागमा प्राध्यापकको संख्या कम भएको र त्रिवि सेवा आयोगबाट एमफिल पिएचडी सहितका शिक्षकहरु उत्तीर्ण भएको अवस्थामा उनीहरुलाई विभागमा पोष्टीङ गर्न त्रिवि केन्द्रीय कार्यालयलाई अनुरोध गर्दा उक्त प्राध्यापकहरुलाई विभागमा नपठाउन लुइँटेल पटक पटक डेलिगेसन गई असफल बनाउन लागि परे । तथापि विश्वविद्यालयले विभागको आवश्यकता अनुसार माग गरिएका प्राध्यापकलाई विभागमा पोष्टीङ गरिदियो । यसबाट विभाग थप बलियो भयो । विभागको क्रमिक सुधारसँगै विद्यार्थी संख्या पनि बढेको र विद्यार्थीहरुलाई सेक्सन विभाजन गरी पठनपाठन गर्न थप शिक्षक आवश्यक पर्ने भएकोले केही आंशिक शिक्षकलाई काममा लगाउन त्रिविलाई अनुरोध गरिएको तर लुईँटेल यो कुराको विरोध गर्दै विभागलाई आंशिक शिक्षक आवश्यक नभएको भनी पटक पटक असफल बनाउन लागिपरे । तर लुइँटेल समूहको दवावका वावजुत पनि त्रिविले अनुगमन समेत गरी विभागमा रहेको वास्तविक कक्षाभारको आधारमा आंशिक शिक्षकलाई काममा लगाउने स्वीकृति दियो र थप आंशिक शिक्षकलाई काममा लगाइयो । यसप्रति लुइँटेल समूह आक्रोशित थियो भनेर एक आंशिक शिक्षक बताउँछन ।

  • झुठा मुद्दा र वौद्धिक चोरी

लुइँटेल विभागसँग मात्र होइन व्यक्तिगत रुपमा पनि अरुको विरुद्धमा मुद्दा हाल्ने झुठा आरोप लगाउन सँधै उद्दत हुने व्यक्ति हुन । उनी आफू प्राध्यापकको उम्मेदवार हुने समयमा आफ्ना प्रतिस्पर्धीहरुलाई मुद्दा हाल्ने र प्राज्ञिक ठगी पनि गर्दथे । एक विज्ञापनमा त उनले विश्ववद्यिालय अनुदान आयोगबाट उनको नेतृत्वको टोलीले गरेको अनुसन्धान प्रतिवेदनलाई आफ्नो नामबाट एकल लेखकको रुपमा पुस्तक छापेर पेश गरेको र पछी उक्त ठगी काम विरुद्ध उजुरी परेपछि अन्तरवार्तामै सहभागी नभई भागेका थिए भनेर त्रिवि सेवा आयोगका जानकार व्यक्तिले वताए ।

यसरी प्राज्ञिक दृष्टिकोणले नक्कली काम गरी वौद्धिक चोरी र ठगी गर्न पछि नपर्ने लुइँटेलको व्यक्तिगत प्रवृत्ति हो । त्यतिमात्र होइन पछिल्लो प्राध्यापकको विज्ञापनमा आफू प्राध्यापक नभएपछि प्राध्यापकमा नाम सिफारिश भएका आफ्नै वरिष्ठ गुरु प्राध्यापक भएको नतिजाविरुद्ध उजुरी हालेर विभागकै प्रा.डा. सुरेन्द्र मिश्रलाई झण्डै सेवा निवृत्त हुने वेलासम्म नियुक्ति नपाउने अवस्थामा पुर्याएको उनकै निकटस्थ व्यक्तिले बताए । यसरी अरुको हित र अरुले राम्रो गरेको देख्न नचाहने लुइँटेलको व्यक्तिगत र लुइँटेल समूहको मुख्य प्रवृत्ति हो । यो प्रवृत्तिले विभाग र सिँगो समाजशास्त्रसँग जोडिएका आम समाजशास्त्रीले दुःख पाउँदै आएको उक्त विषयसँग जोडिएर आफ्नो भविष्य खोजिरहेका शिक्षक विद्यार्थी वताउँछन् ।

  • जसले चैतन्य मिश्रलाई दुत्कार्यो

त्यसै सिलसिलामा समाजशास्त्र केन्द्रीय विभाग र नेपालभर छरिएर रहेका समाजशास्त्रीहरुलाई एक ठाउँमा ल्याई व्यवसायिक दक्षता अभिबृद्धि गरी समाजशास्त्र विषयलाई समेत सवल बनाउने उद्देश्यले अनौपचारिक रुपमा नेपाल समाजशास्त्र सङघको स्थापना गरी कार्य सञ्चालन भइरहेको सन्दर्भमा यसलाई बलियो बनाई विभिन्न कार्यक्रमहरु अगाडि बढाउन औपचारिक र वैधानिक संस्थाको रुपमा यसलाई अगाडि बढाउन नेपालका समाजशास्त्रका पिता प्रा.डा. चैतन्य मिश्रको अध्यक्षतामा नेपाल समाजशास्त्र सङघको तदर्थ समिति गठन गरी अगाडि बढाइयो । यो संस्थाले ६ महिनामा दर्ता लगायतको सम्पूर्ण कार्यहरु सम्पन्न गरी प्रतिष्ठित सहयोगी संस्थाको सहयोग समेत जुटाएर एक विशाल अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना गरी भव्य र सफल रुपमा सम्पन्न गरियो । तर अधिवेशनसमेत सम्पन्न गर्ने गरी पोखरामा आयोजित उक्त अन्तर्राष्ट्रिय गोष्ठीको लुइँटेल समूहले असन्तुष्टि व्यक्त गर्दै पूर्णतया असहयोग गरेको कुरा उक्त समितिका एक सदस्यले बताए ।

पोखरामा आयोजित उक्त अन्तर्राष्ट्रिय गोष्ठीको अधिवेशनमा त लुइँटेल समूहको अकल्पनीय हर्कत प्रस्तुत भयो । उक्त गोष्ठीको अन्तिम सत्रमा अधिवेशन गरी नयाँ कार्यसमिति गठन गर्ने कार्यक्रम कार्य तालिकामा समावेश थियो । समयतालिकामा समावेश भए अनुसार विधान र अधिवेशनसम्बन्धी छलफल भयो । छलफलमा धेरै सहभागीहरुले तदर्थ समिति गठन भएको जम्मा ६ महिना भएको र प्रा.डा. चैतन्य मिश्रको नेतृत्वको समितिले अत्यन्तै प्रभावकारी काम गरेकोले एक कार्यकाल वहाँलाई नै नेतृत्व गर्न दिने आशय व्यक्त गरेपछि लुइँटेल समूह उक्त कुरालाई अस्वीकार गरी चुनाव हुनु पर्ने दवाव दिन लागे । तदर्थ समितिका तर्फबाट प्रा.डा. चैतन्य मिश्रले चुनावको तयारीका लागि समय आवश्यक पर्ने भएकोले अधिवेशन स्थगित गर्ने धारणा राख्नु भएलगत्तै लुइँटेल समूह प्रा.डा. चैतन्य मिश्र लगायत प्रा.डा. तुलसीराम पाण्डे, प्रा. मधुसुदनसुवेदी र डा. टीकाराम गौतमलाई कुटपिट गरेर पनि चुनाव गराउने भनी सम्मेलन हल थुनेर जवरजस्ती प्राध्यापक चैतन्य मिश्रमाथि गणेमान गुरुङले नेतृत्व गरेको लुइँटेल समूहले हातपात गर्ने प्रयास गर्यो । तर सम्मेलनमा सहभागी अन्य शुभचिन्तक सदस्यहरुको सहयोगमा सम्मेलन हलबाट प्राध्यापक चैतन्य मिश्र लगायत अन्य सरहरुलाई सम्मेलन स्थानभन्दा बाहिरको होटेलमा राखी सुरक्षित रुपमा अर्को दिन काठमाण्डौ आउने काम भयो भनी उक्त सम्मेलनमा सहभागी एक समाजशास्त्रीले वताए ।

अर्को दिन गोष्ठीमा रकम संकलन गरी हरसिसाव विना रकम लिएर भागेको भन्नेजस्तो झूठो आरोप लगाई पत्रपत्रिकामा प्रचारबाजी गरी प्रा.डा. चैतन्य मिश्रलगायत अन्य पदाधिकारीहरुको बदनाम गर्ने प्रयत्न भयो । लुइँटेल समूहको हर्कत यतिमा सिमित रहेन नेपाल समाजशास्त्र सङघ कब्जा गर्ने लुइँटेल समूहको योजना अनुसार नेपालका समाजशास्त्रका पिता संघका अध्यक्ष चैतन्य मिश्रलगायत कार्य समितिका अन्य पदाधिकारीविरुद्ध काठमाण्डौ जिल्ला प्रशासनमा उजुरी हाले । यसरी आफ्नै गुरुहरु उपर विनाकारण र विना आधार राजनैतिक पूर्वाग्रहका आधामा उजुरी हाल्न लगाइयो । आफ्नो गुरु र इमान्दार प्राध्यापक विरुद्ध आफ्नै विद्यार्थीहरु टेकनाथ सुवेदी, शिवजी गुरुङ र भीम सिग्देल लगायतको टोलीलाई उचालेर मुद्दा हाल्न लगाउने लुइँटेलको कामले समाजशास्त्र र समाजशास्त्रीहरुलाई नै लज्जाको विषय हो भन्ने आम समाजशास्त्रीहरुको बुझाई रहेको छ ।

लुइँटेल समूहले जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा हालेको मुद्दा अनुसार नेपाल समाजशास्त्र सङघका अध्यक्ष एवं पदाधिकारी जिल्ला प्रशासन कार्यालय कार्यालयमा उपस्थित भई नेपालको समाजशास्त्र र समाजशास्त्रीहरुको हितमा काम गर्न क्रियाशील रहँदा पनि लुइँटेल समूहले गरेको यस किसिमको घटिया कार्यमा उद्दत समूहको कारण उनीहरुको माग अनुसार नै अधिवेशनको मिति तोकि नेपाल समाजशास्त्र सङघ कहिले पनि प्राज्ञिक कार्यमा योगदान नगरेका लुइँटेल समूहका नाइके गणेशमान गुरुङलाई जिम्मा लगाई तदर्थ समितिमा रहेर योगदान गर्नु भएका अध्यक्ष प्रा.डा. चैतन्य मिश्र लगायत प्रा.डा. तुलसीराम पाण्डे, प्रा. मधुसुदन सुवेदी र डा. टीकाराम गौतम यस किसिमको अकर्मण्ड्य समूहसँगै रहनु अर्थपूर्ण नहुने भएकोले बाहिर रहनु उपयुक्त हुने निर्णय गरी स्वतन्त्र रुपमा रहनु भयो ।

उक्त अधिवेशनबाट अध्यक्ष भएका गणेशमान गुरुङले जुन विषयको नाममा आफू प्राध्यापक भए, जुन विषयको नामबाट राज्यको विभिन्न निकायमा नियुक्ति पाए त्यही विषयको विस्तार, विकास र उन्नतीको लागि जीवनमा कुनैपनि योगदान दिएका छैनन् । नत कुनै एउटा योग्य अनुसन्धान नै गरेका छन् । कुनै एउटा विशिष्ट लेख छैन जुन समाजशास्त्र विषयमा पठनपाठनको लागि योग्य होस । आफू तत्कालीन एमाले पार्टीका तर्फबाट संविधान सभाका सदस्य मनोनित समेत भएका राजनैतिक व्यक्ति हुन । यसरी जीवनमा खासै प्राज्ञिक योगदान नदिएका राजनीतिक दलका कार्यकर्ता गणेशमान गुरुङले विशुद्ध प्राज्ञिक उद्देश्यले र समाजशास्त्र विषयको विस्तार, विकास र उन्नतिको लागि खोलिएको गैर राजनीतिक संस्थामा चैतन्य मिश्रजस्ता देशका प्राज्ञिक व्यक्तित्वलाई समेत विरोध र अमर्यादित व्यवहार गरी गुरुङ आफू अध्यक्ष हुनु कुन हदसम्मको पदलोलुप चरित्र हो भन्ने प्रश्न अहिले सबैले गरेका छन् । हुनत प्राज्ञिकताको नाममा क्रियाशील राजनीतिक दलका झोले कार्यकर्तालाई यस्ता कुराले खासै छुँदैन । तथापि समाजशास्त्र विषय र विभागको उन्नति, प्रगति र मर्यादा चाहने र यो विषयसँग आफ्नो भविष्य खोज्ने जो कोहीले पनि यो हर्कतलाई ठिक मान्दैनन् । अझ गहिराईमा पुगेर विश्लेषण गर्ने कतिपय समाजशास्त्रीहरु लुइँटेलले आफ्नो फाइदाको लागि र विभागमा दवाव दिनका लागि यस्तो समूह बनाउने उक्साउने र गणेशमान गुरुङ लगायतलाई लुइँटेलले प्रयोग गरे भन्ने बुझाई पनि राखेको पाइन्छ ।

प्रा.डा. तुलसीराम पाण्डे अस्वस्थ भएपछि वहाँले विभागको नेतृत्व गर्न सक्ने अवस्था रहेन र विभागीय प्रमुखको जिम्मेवारीबाट मुक्त हुनुभयो । क्यान्सर जस्तो जटील रोगको विरामी हुनु भएका पाण्डे सरलाई लुइँटेल र उनको समूहका केही सदस्यले अहिलेसम्म पाण्डे सरलाई भेटेका छैनन् । त्यतिमात्र होइन पाण्डे सरको स्वास्थ्योपचारका लागि विभागबाट केही रकम संकलन गरी सहयोग गर्ने सल्लाह भएको तर लुइँटेल र उनको समूहका व्यक्तिले यस किसिमको कार्यमा समेत सहयोग नगरी अमानवीय व्यवहार र प्रवृत्ति देखाए । यसकारण लुइँटेल समूह मानवीय संवेदना पनि नभएको समूह हो भन्ने कुरा यस्तै तथ्यबाट पुष्टि हुन्छ ।

विभागको नेतृत्व डा. टीकाराम गौतमले लिएपछि डा. लुइँटेल समूहलाई झन असह्य भयो । आफूले नेतृत्व लिएको छोटो अवधिमा डा. गौतमले विभागको शैक्षिक, भौतिक एवं प्राज्ञिक पक्षमा अकल्पनीय सुधार गरेपछि लुइँटेल समूह इष्र्याले गौतम र उनका सहयागी विरुद्ध विभिन्न किसिमका झुट्ठा मुद्दा र आरोप लगाउने काममा उद्दत रह्यो । आफू विभागीय प्रमुख हुनका लागि सिँगो शत्ता र शक्ति त प्रयोग गरे नै डा. गौतम र उनका सहयोगीबारे अनेक किसिमका अनर्गल प्रचार र झुठा मुद्दा र आरोप लगाउन पनि लुइँटेल समूह पछाडि परेन । यस्तै प्रवृत्तिलाई पृष्ठपोषण गर्ने अभिप्रायले नियुक्त त्रिवि पदाधिकारी सिंगो विश्वविद्यालयलाई आफू अनुकुल बनाउने सिलसिलामा डा. लुइँटेललाई त्रि.वि.को ऐन नियम लत्याएर विभागीय प्रमुख बनाइयो । यि सबै तथ्यहरु आफै बोल्दछन कि लुइँटेल समूह पद र कुनै लाभका लागि जे पनि गर्न पछि पर्दैन । समाजशास्त्र विभागसँग जोडिएर उपप्राध्यापक चलाउनेमाथि भएको निन्दनीय घटनापनि जसरीपनि विभागीय प्रमुखको पद लिनु पर्ने लुइँटेल समूहको हर्कतको परिणाम हो । पदका लागि विभाग, विषय र अन्य कुनै पनि कुराको उनीहरुलाई मतलब छैन ।

जुनसुकै हत्कण्डा प्रयोग गरेर पनि संस्था कब्जा गर्ने लुइँटेल समूहको अभिष्ट हो भन्ने धेरै समाजशास्त्रीको बुझाई रहेको छ ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार