न्युजिल्यान्डको मन्त्रिपरिषदमा पहिलो पटक समलिङ्गी र आदिवासी महिला

२०७७ कार्तिक १७ साेमबार, काठमाडौं । न्युजिल्यान्डमा पहिलो पटक समलिङ्गी व्यक्तिलाई उपप्रधानमन्त्री बनाइएको छ । प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले पहिलो पटक समलिङ्गी व्यक्ति ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाएकी हुन्।

त्यस्तै अनुहारमा परम्परागत ट्याटु खोपेकी माओरी जातकी आदिवासी महिला नानिया माहुतालाई विदेशमन्त्री बनाइएको छ ।

प्रधानमन्त्री आर्डेनले सोमबार समलिङ्गी र आदिवासीको चिनारी स्वरूप अनुहारमा ट्याटु खोपेकी महिलालाई मन्त्रिपरिषद्मा सामेल गरेको जानकारी गराएकी छन् । उनले आफ्नो मन्त्रिपरिषद्लाई अविश्वसनीय रूपले विविध भएको बताइन् ।

आर्डेनले मन्त्रिपरिषदमा उनीहरूको नियुक्तिले आफूलाई निकै गर्व लागेको बताएकी छन् ।

गत अक्टोबर १७ मा प्रधानमन्त्री आर्डेनले दोस्रो कार्यकालका लागि भारी मतले जित हासिल गरेकी हुन्। त्यसपछि उनले मन्त्रिपरिषद् पुनर्गठन गर्दै समलिङ्गी र आदिवासीलाई पनि आफ्नो मन्त्रिपरिषदमा सामेल गरेकी हुन्।

४० वर्षीया प्रधानमन्त्री आर्डेनले क्याबिनेट दुवै मेरिट र प्रतिभाको आधारमा बनाइएको र जुन अविश्वसनीय रूपले विविध रहेको बताइन् ।

उनले यी व्यक्तिहरूले क्याबिनेटमा ल्याएका मुद्दाहरूका कारण पदोन्नति गरिएको र उनीहरूले न्युजिल्यान्डलाई झल्काउने बताइन् ।

उपप्रधानमन्त्री भएका ४९ वर्षीय रोबर्टसनले लामो समयसम्म प्रधानमन्त्री आर्डेनका ‘राइट ह्यान्ड म्यान’ भएर काम गरेका थिए। आर्डेनको पहिलो कार्यकालमा उनी अर्थमन्त्री थिए। त्यस्तै चुनाव प्रचारप्रसार अभियानमा उनी प्रमुख रणनीतिकार पनि थिए।

आर्डेनलाई आफ्नो क्याबिनेटमा समलिंगी नियुक्ति गरेको बारे प्रश्न उठेको थियो। उनले रोबर्टसनको नेतृत्व गर्न सक्ने क्षमताका कारण मनोनीत गरेको बताएकी थिइन्।

माहुता सन् १९९६ मै सांसद बनेकी थिइन्। उनी न्युजिल्यान्डकी पहिलो महिला विदेशमन्त्री बनेकी छन्। नवनियुक्त सदस्यहरूको शपथ ग्रहण शुक्रवार हुने छ ।

उनले आफ्नी छोरीको आग्रहमा सन् २०१६ मा मात्रै अनुहारमा परम्परागत ट्याटु बनाएकी थिइन्। उनको समुदायमा पुरुषहरूले पुरै अनुहार ढाक्ने गरी ट्याटु बनाउने चलन रही आएको छ। उनलाई पनि आफ्नो क्षमताका कारण मनोनीत गरिएको प्रधानमन्त्री आर्डेनले बताइन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार