नेतृत्वलाई निरुदेवी पालको चेतावनी- ‘नाटक बन्द गर्नुस्, नत्र महंगो पर्ला’

२०७७ कार्तिक १८ मङ्गलबार, काठमाडौं । पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद उत्कर्षमा पुग्दैछ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शक्ति संघर्षमा थप समस्या देखिएको हो ।

यहीबीच अब नेकपा पार्टी फुट्ने प्रसंगको चर्चा पनि हुन थालेको छ । दुई अध्यक्षको तिक्तता बढेपछि मिडिया र सामाजिक संजालमा नेकपाका नेताहरुको बयानबाजी पनि शुरु भएको छ ।

यहीबीच नेकपाकी सांसद निरुदेवी पालले शक्ति संघर्ष र पार्टी फुटको खेल नखेल्न नेतृत्वलाई सचेत गराएकी छन् । महिला तथा सामाजिक समितिकी सभापति समेत रहेकी उनले कोठे बैठक गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने र पार्टी फुटाउनेसम्मका चलखेल बन्द गर्न आग्रह गरेका हुन् ।

सामाजिक सञ्चालमार्फत पालले जनतालाई रोग र भोकबाट कसरी बचाउन भन्दा पार्टी फुट्न लाग्यो बचाउनु पर्यो भनेको देख्दा दया लागेको बताइन् । ‘पार्टी फुट्न लाग्यो बचाउनु पर्यो भनेर सिनियर नेताहरुले सामाजिक संजालहरुमा हारगुहार गरेको देख्दा दया लागेर आयो,’ उनले लेखेकी छन्- ‘के पार्टी कार्यकर्ताले फोड्न लागेका हुन् र ?, यो नाटक अब बन्द गर्नुस् ।’

प्रधानमन्त्रीलाई कसरी हटाउने योजना बनाई अगाडी बढेमा जनताले किमार्थ माफ नगर्ने उनको चेतावनी छ । ‘केपी ओलीलाई फाल्न अर्को कसैलाई ल्याउन होइन्, जनताले तपाईं हामीलाई किमार्थ माफ गर्ने छैनन् ।’ उनले भनेका छिन्- ‘नेता कमरेडहरु सच्चिनुस्, अन्यथा कार्यकर्ताले जोगाएको पार्टी हो, कार्यकर्ताको आवेगको सामना गर्न निक्कै महङ्गो पर्ला !’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार