आफ्नो कार्यकालको योजना बनाउँदै बाइडेनः यी महत्वपूर्ण मुद्धा प्रमुख प्राथमिकतामा

२०७७ कार्तिक २४ साेमबार, एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो कार्यकालका योजना बनाउन सुरु गरेका छन् । हाल विश्वभरी कोरोना भाइरसको महामारी फैलिरहेकाले कोरोना नियन्त्रणलाई बाइडेनको टोलीले आफ्नो प्रमुख प्राथमिकतामा राख्ने भएको हो ।

बाइडेन डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनको टोलीका अनुसार अमेरिकामा कोरोनाभाइरस परीक्षणको दायरा बढाइनेछ भने सर्वसाधारणहरूलाई मास्क लगाउन अनिवार्य गरिनेछ ।

यसैगरी बाइडनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताइएको छ । बाइडेनको कार्यकालको सुरुमा नै अमेरिका पुनः जलवायु सम्बन्धी पेरिस सम्झौतामा प्रवेश गर्ने तयारी छ ।

बाइडेनको नेतृत्वको अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णय पनि बदर गर्ने बताइएको छ । ट्रम्प प्रशासनले सात वटा मुलुकमा जारी गरेको यात्रा प्रतिबन्धको व्यवस्था पनि अन्त्य गरिने बताइएको छ । ती सात मुलुकमा अधिकांश मुस्लिम राष्ट्र छन् ।

राष्ट्रपति निर्वाचित भएपछिको पहिलो सम्बोधनमा उनले यो निको हुने समय भएको बताएका थिए । बीबीसीले उल्लेख गरेअनुसार डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका उनले देशलाई विभाजित नभएर एकताबद्ध पार्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सम्बोधनका क्रममा उनले जनताले आफूलाई स्पष्ट रूपमा जिताएको भन्दै कृतज्ञता प्रकट गरेका थिए ।

बाइडनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ७.४ करोडभन्दा बढी मत प्राप्त गरेको बताएका छन् । ‘म तपाईँहरूले मप्रति देखाउनुभएको विश्वासबाट अनुगृहीत छु,’ उनले भने । ‘म विभाजन गर्न खोज्ने हैन बरु एकताबद्ध गर्ने राष्ट्रपति बन्ने बाचा गर्छु जसले राता र नीला राज्य हैन, केवल संयुक्त राज्य (अमेरिका) देख्छ ।’

अमेरिकामा डेमोक्र्याटिक पार्टीले नीलो रङ्ग र रिपब्लिकन पार्टीले रातो रङ्ग प्रयोग गर्छन् । बाइडनले ती दुई दलले जितेका राज्यलाई ती भिन्न रङ्गबाट छुट्याइने कुराको सङ्केत गरेका हुन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार