मुम्बई इण्डियन्सले जित्यो आइपिएलको उपाधि

२०७७ कार्तिक २६ बुधबार, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) १३औँ सिजनको उपाधि पनि मुम्बई इन्डियन्सले जितेको छ । गएराति भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बई पचौँ पटक उपाधि जित्न सफल भएको हो । मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो ।

दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै उपाधिमाथि कब्जा जमाएको हो । मुम्बईको जितका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६८ रन बनाए । अर्का ओपनर क्वीन्टन डिककले २०, सूर्य कुमार यादवले १९ र इशान किसनले ३३ रन बनाए । दिल्लीका लागि मार्कस स्टोनिस र कागिसो रबडाले​ १–१ विकेट लिए भने र इनिरच नोर्त्जेले २ विकेट लिए ।

दुबई अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा दिल्लीले टस जितेर ब्याटिङ रोजेको थियो । मुम्बईविरुद्ध ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले सर्बाधिक ६५ रन बनाए भने रिषव पन्तले ५६ रनको योगदान दिएका थिए ।

त्यस्तै शिखर धवन १५ रन बनाएर आउट भए भने मार्कोस स्टोइनिस शुन्यमा, आजिख्य रहाने २ रन बनाएर आउट भएका थिए । त्यस्तै शिमरन हेटमेयरले ५ रन बनाए भने अक्सर पटेलले ९ रनको योगदान दिए । मुम्बई इण्डियन्सका बलर ट्रेन्ट बोल्टले ३ विकेट लिए भने नाथन क्ल्टर नीलले २ विकेट लिए । त्यस्तै जयन्त यादवले एक विकेट लिए । पहिलो पटक फाइनलमा पुगेको दिल्ली उपाधि जितेर इतिहास रच्नबाट बञ्चित भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार