बाँचुञ्जेलका साथी एउटा ‘कविता’, अर्को ‘चुरोट’

२०७७ कार्तिक २९ शनिबार, काठमाडौं । महाकवी लक्ष्मीप्रसाद देवकोटाको आज ११२ औं जन्मजयन्ती मनाईंदैछ । नेपाली साहित्यीक क्षेत्रका नक्षत्रका रुपमा उदाएका स्वर्गिय देवकोटाको जन्म वि. सं. १९६६ कार्तिक २७ गते ’लक्ष्मीपुजा’को दिनमा काठमाडौँको डिल्लीबजारमा भएको हो ।

देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू विशिष्ट कोटिको मानिन्छ । उनले सृजना गरेको मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृतिहरूले नेपाली साहित्यको आकाश फराकिलो भएको बर्तमान समयमा श्रष्टाहरुको धारणा छ । देवकोटाको ‘मुनामदन’ कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् । ‘मुनामदन’ नेपाली साहित्यमा अहिलेपनि धेरै विक्रि हुने र पढिने कृति हो ।

प्रारम्भिक जीवन

देवकोटा पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेश्रा छोरा थिए । उनी डिल्लीबजार, धोबीधारा, काठमाडौँमा तिहारको लक्ष्मी पूजाका दिन जन्मिएकाले उनलाई लक्ष्मीकै प्रसादका रुपमा लिइएपनि उनी सरस्वतीका भक्त भएर निस्किए । उनको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो ।

देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरह्यो । उनको घरले गरिबीको रेखालाई नाघ्न सकेको थिएन । सानैमा घरको आर्थिक अवस्था देखेका उनी भन्ने गर्दथे, ‘म अंङ्ग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन पढाएर पैसा कमाउँछु ।’ देवकोटा जन्मेदेखि नै रोगी थिए । शारीरिक कामहरु गर्न सक्दैनथे ।

देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए ।

शिक्षा

देवकोटा वि. सं. १९६६ मा जन्मिँदा, देशमा राणा शासन थियो । राणाहरू चाहन्थे, सर्वसाधारण जनताहरूले शिक्षा नपाऊन् तर धेरै चोटिको प्रयत्नपछि देवकोटाको परिवारले उनलाई काठमाडौँ उपत्यकाको एकमात्र विद्यालय दरबार हाई स्कुलमा भर्ना गरिदिए । देवकोटा दरबार हाई स्कुलमा नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे ।

उनका प्रायः साथीहरूले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्वीकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । यिनले पनि सबै विद्यार्थी माझ कविता लेखे अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए । सन् १९२५ मा देवकोटा त्रि–चन्द्र कलेजमा विज्ञान विषयमा भर्ना भए । विज्ञानमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेपछि उनी मानविकी सङ्कायमा सरे ।

सन् १९२९ मा स्नातक तहको अध्ययन पूरा गरेपछि सन् १९३१ मा छात्रवृत्ति लिएर अंङ्ग्रेजीमा स्नातकोत्तर पढ्ने आशामा उनी भारतको पटना गए । अङ्ग्रेजी विषयमा स्थान नपाएपछि उनले कानून पढे ।

साहित्यिक यात्रा

देवकोटा बहुमुखी प्रतिभाका धनी थिए, जसले दस वर्षको उमेरदेखि कविता लेखनबाट साहित्यमा हात हाले । उनको छोटो जीवनमा उनले नछोएको साहित्यको कुनै विधा छैन । उनले महाकाव्य, खण्डकाव्य, लामा वर्णनात्मक कविताहरू, निबन्धहरू, कथाहरू, नाटकहरू, गीतहरू र समालोचनाहरू लेखेका छन् ।

कविता पढेजस्तै अनुभव हुने देवकोटाका निबन्धहरू शैली र विषयवस्तुका लागि एकदमै प्रशंसायोग्य छन् । यिनीद्वारा लिखित वियोगान्त नाटक ‘मुनामदन’ उनका मृत्युपछिका पाँच दशक पछिसम्म साझा प्रकाशनद्वारा अत्याधिक बिक्री हुने कृतिमा पर्दछ । ‘मुनामदन’ नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो । देवकोटाले केही समय त्रि–चन्द्र कलेजमा प्राध्यापन पनि गरे । यिनी एक पटक वि. सं. २०१३ मा नेपालको शिक्षा मन्त्रीसम्म भएका थिए । यिनैका पालामा नेपालमा पहिलो त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो ।

देवकोटासँग कविताहरू एकदमै चाँडो लेख्ने अद्वितीय प्रतिभा थियो । उनले शाकुन्तल (महाकाव्य) तीन महिनामा, सुलोचना (महाकाव्य) दश दिनमा र कुञ्जिनी एकै रातमा लेखेका थिए । प्रचलित लोक भाका झ्याउरे छन्दमा लेखिएको कृति मुनामदनले नेपाली साहित्यमा संस्कृतको प्रभावको अन्त्य गर्यो । ‘पागल’ कविता उनको अर्को शक्तिशाली सिर्जना हो । उक्त कवितामा उनले आफूलाई ‘पागल’ भन्नेहरूलाई नै कवितात्मक शैलीमा जवाफ दिएका छन् ।

नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखन स्वच्छन्दवाद सर्जकका रुपमा परिचित छन् । नेपाली भाषासाहित्यलाई अंङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्याउने काम पनि देवकोटाबाट नै भएको थियो ।

देवकोटालाई एशियाकै शक्तिशाली साहित्यकारका रुपमा मान्नेहरु छन् । देवकोटा चौध भाषा बुझ्थे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू ‘शारदा’ मासिकमार्फत प्रकाशित भएका छन् ।

देवकोटा बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि काव्यसंसारमा नै विचरण गर्थे । उनको बाँचुन्जेलको साथी एउटा ‘कविता’ थियो भने, अर्को ‘चुरोट’ थियो । देवकोटालाई चुरोटको कस्तो लत थियो भने, उनी लेख्न बसेका बेला आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थे ।

लाइब्रेरी पर्व

वि. सं. १९८७/८८ ताका जोगवीर सिंह, हरेकृष्ण श्रेष्ठ, बैकुण्ठप्रसाद श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, कृष्णप्रसाद खतिवडा, धर्मराज थपलिया, चित्तघर उपासकलगायत ४५/४६ जनाको प्रयासमा लाईब्रेरी खोल्न सहमतिको माग गरे । आखिर रामचन्द्र अधिकारीद्वारा राणा प्रधानमन्त्री भीमशमशेरलाई सूचना मिल्यो र रोक लगाई प्रत्येकलाई १० रूपैयाँ दण्ड गरियो । आधा रकम सूचना गर्ने रामचन्द्रलाई पुरस्कार दिइयो ।

राजनीति

राजा त्रिभुवनले २०११ मा गठन गरेको सल्लाहकार सभामा देवकोटा थिए । राजा त्रिभुवनको पालामा बुद्धिजीवी वर्गको प्रतिनिधिका रूपमा राजा त्रिभुवनबाट ‘सल्लाहकार सभा’मा पुनः मनोनीत भए । सल्लाहकार सभा गठन हुँदा देवकोटालाई विपक्षी नेता बनाइएको थियो । सो सल्लाहकार सभाको दोस्रो अधिवेशनमा मातृकाप्रसाद कोइरालाद्वारा प्रस्तुत बजेटमाथि विपक्षी दलका नेताका हैसियतले गरेको चर्को भाषणकै कारण सरकार विघटित हुन पुगेको थियो ।

राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई निरन्तरता दिए ।

देवकोटा त्रिभुवन विश्वविद्यालयको स्थापना सँगसँगै सो विश्वविद्यालयको कमिसनको सदस्यमा मनोनीत भए । त्यसपछि उनैको हस्ताक्षरमा विश्वविद्यालयको रूपरेखा तयार भयो । महेन्द्रको चान्सरलरसिपमा देवकोटा पनि नेपाल एकेडेमीको सदस्य भए ।

शिक्षा मन्त्री

डा. के.आई. सिंहको मन्त्रिपरिषदमा महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षा, स्वायत्त शासन मन्त्री थिए । शिक्षा मन्त्री हुँदा उनले त्रिभुवन विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठानको स्थापना गर्न महत्त्वपूर्ण योगदान गरे । ११० दिनसम्म मन्त्री भएका बेला उनले नेपाल राष्ट्रभरिका स्कुल र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाए ।

राजा महेन्द्रले पनि उनको तीन महिनाको तलब जरिवानाबापत रोक्का गरे । यस घटनाले उनी निराश देखिए । पछि श्यामदास वैष्णवसँग आफ्नो निराशा व्यक्त गर्दै भनेका थिए ‘धेरै बाँचियो ! बाँच्न पुग्यो ।’

तास्कन्द सम्मेलनमा सहभागी

सन् १९५८ को अक्टुबरमा तत्कालीन सोभियत गणराज्य उज्बेकिस्तानको राजधानी ताशकेन्ट (तासकन्द)मा भएको अफ्रो–एसियाली लेखक सम्मेलनमा देवकोटाले नेपाली मण्डलको नेतृत्व गरेका थिए ।

त्यतिबेला नेपाली कांग्रेसको सरकार थियो । उनले सरकारसँग स्वीकृति त लिए, तर राजासँग लिएनन् । त्यतिबेला भारतको नयाँ दिल्लीबाट भिसा लिँदै उनी र माधव घिमिरे तासकन्द पुगे । देवकोटाले राजासँग स्वीकृति नलिएर राजाको अनादार गरे भनेर उनको विरोध भयो ।

राजा प्रज्ञा प्रतिष्ठानको कुलपति थिए । त्यो कम्युनिस्ट भयो भनेर उनको विषयमा राजा महेन्द्रलाई कुरा लगाइयो । उनले नेपाली भाषाको साहित्यको विषयमा त्यहाँ बुलन्द भाषण गरेका थियो । तर यता देशको नाम बदनाम गर्यो भनेर राजालाई उछाल्ने काम भयो । राजा महेन्द्रले पनि उनको तीन महिनाको तलब जरिवानाबापत रोक्का गरे । यस घटनाले उनी निराश देखिए । पछि श्यामदास वैष्णवसँग आफ्नो निराशा व्यक्त गर्दै भनेका थिए ‘धेरै बाँचियो ! बाँच्न पुग्यो ।’

देवकोटा नेपालबाट भिसा र पासपोर्ट नबनाई तासकन्द गएका थिए । त्यसका निम्ति उनलाई मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णशमशेरदेखि रोयल नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्मासम्मले हरियो झण्डा देखाएर प्रेरित गरेका थिए । तर पछि तिनै व्यक्तिहरूको सिफारिसमा नै देवकोटाले एकेडेमीबाट पाउने पारिश्रमिक रोक्का गरिएको थियो । तर पछि त्यसको रहस्य खुलेपछि एक महिनाको तलब जरिमाना गरेर राजा महेन्द्रले उनको पारिश्रमिक निकासा गरिदिए ।

व्यक्तिगत जीवन

१५ वर्षको उमेरमा मनदेवी चालिसेसँग लक्ष्मीप्रसाद देवकोटाको विवाह भयो । वि. सं. १९८५ मा उनको पहिलो सन्तान छोरी सावित्री र वि.सं. १९८९ मा जेठो छोरा प्रकाश जन्मिए । माहिला छोरा कृष्णप्रसाद देवकोटाको जन्म वि.सं. १९९३ मा भएको थियो । कानुनमा स्नातकोत्तर उपाधि हासिल गरेर घर फर्किएपछि भने उनले विभिन्न व्यक्तिगत घटना र संकटको सामाना गर्नुपर्यो ।

दुई वर्ष भित्रै उनका बुवा, आमा र दुई वर्षे छोरीको मृत्यु भयो । ती वियोगान्त घटनाहरू पछि उनलाई चुरोटको आदत बसायो । त्यसपछि पनि उनका कलिला छोराहरू प्रकाश र कृष्णको असामयिक मृत्यु भयो । यसले देवकोटाको मस्तिष्कलाई समेत चोट पुर्यायो । उनले केही समय मानसिक संस्थामा बिताए ।

अन्तिम वर्षहरू

देवकोटालाई १९५८ (वि. सं. २०१५)मा क्यान्सर लागेको थाहा भयो । भारत लगेर ठूलो आन्द्राको ३ इन्च निकालिएपछि उनलाई आफ्नो मृत्यु आएको पक्का भयो । उनी रातभर जाग्राम बसी रचना लेख्न थाले । त्यसको एक वर्षपछि वि.सं.२०१६ साल भाद्र २९ गतेका दिन उनको दुःखद निधन भयो ।

शान्त भवन अस्पतालमा रहँदा उनले आफ्ना साथी हरि श्रेष्ठलाई चिठीमा लेखेका थिए–‘मृत्यु मेरो अगाडि छ । म आकाशमा नक्षत्रहरू खोज्छु तर भेट्दिनँ । म आफूलाई शान्ति दिन सक्दिनँ । म उठ्न सक्ने भएँ, म आफू र आफ्ना बच्चाहरूलाई मार्ने थिएँ ।’

जीवनभर, उनले भगवान् मानेनन् । आर्यघाटमा उनले भने ‘मैले आफ्नो जिन्दगी हरिनाम नजपेर, नास्तिक भएर बिताएछु, अब जान आँटिहालेँ !’ अनि उनले जीवनको शाश्वत आध्यात्मिक कुरा कवितामार्फत यसरी व्यक्त गरे ।’

संसार रूपी सुख स्वर्गभित्र,
रमें, रमाएँ लिई भित्र चित्र ।
सारा भयो त्यो मरूभूमि तुल्य,
रातै परेझैँ अब बुझ्छु बल्ल ।।१।।

रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखिर श्रीकृष्ण रहेछ एक,
न भक्ति भो, ज्ञान, न भो विवेक ।।२।।

महामरूमा कणझैँ म तातो,
जलेर मर्दो बिनु आश लाटो ।
सुकी रहेको तरूझैँ छु खाली,
चिताग्नि तापी जल डाम्न फाली ।।३।।

संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ ।
जन्मे म यो स्वर्ग विषे पलाएँ,
आखिर मै खाक त्यसै बिलाएँ ।।४।।

देवकोटाको कविता संग्रहः

उनको कविता संग्रह पहाडी पुकार ( वि. सं. २००५) मा प्रकाशित भएको छ । ‘पुतली (बाल कविता) वि. सं. २००९), भिखारी (वि. सं. २०१०), सुनको बिहान ( वि.सं.२०१०), छहरा (वि. सं. २०१२), जन्मोत्सव र मुटुको थोपा (वि.सं.२०१५) मा प्रकाशित भए ।

मृत्युशैयाबाट (वि. सं.२०१६), चिल्ला पातहरू (मृत्युपश्चात प्रकाशित, वि.सं. २०२१), गाइने गीतहरू (मृत्युपश्चात प्रकासित, वि.सं. २०२४), मनोरञ्जन (मृत्युपश्चात प्रकाशित, वि. सं. २०२४), भावना गाङ्गेय (मृत्युपश्चात प्रकाशित, वि. सं. २०२४), आकाश बोल्छ (मृत्युपश्चात् प्रकाशित, वि. सं. २०२५) भएका छन् । छाँगासँग कुरा (मृत्युपश्चात् प्रकाशित, वि. सं. २०२६), लक्ष्मी कविता संग्रह ( मृत्युपश्चात प्रकाशित, वि. सं. २०३३), लक्ष्मी गीत संग्रह (मृत्युपश्चात प्रकाशित, वि. सं. २०४०)

खण्डकाव्य

मुनामदन (प्रकाशन वर्ष, वि. सं. १९९१), राजकुमार प्रभाकर (वि. सं. १९९७), कुञ्जिनी (वि. सं. २००२), वसन्ती गीतीकाव्य (वि. सं. २००९), मैना (वि. सं. २००९), सुन्दरी जर्पिना (वि. सं. २००९), रावण जटायु युद्ध (वि. सं. २०११) , म्हेन्दु (वि. सं. २०१५), लुनी (वि. सं. २०२३), सीताहरण (वि. सं. २०२४), मायाविनि सर्सी (वि. सं. २०२४), नवरस कोश काव्य (वि. सं. २०२५), मैना (पुनः सम्पादन वि. सं. २०३९) ।

निबन्ध

आषाढको पन्ध्र(वि. सं. १९९३, शारदा), भलादमी, फूल, पहाडी जीवन, हाई हाई अङ्ग्रेजी, के नेपाल सानो छ, कला र जीवन, कल्पना, साधुको महात्म्य, निद्रा श्रीपञ्चमीको दिन वि. सं. २०१०, साँढे, मेरो पाल्पा तानसेन तर्फको यात्रा आदि ।

देवकोटाको कवितायात्राको पूर्वार्द्धकालीन कविता संग्रहहरूमा ‘भिखारी’ कविता संग्रहलाई, काव्य खण्डकाव्यहरूमा ‘मुनामदन’ खण्डकाव्यलाई र महाकाव्यहरूमा ’शाकुन्तल’ महाकाव्यलाई प्रतिनिधिकृतिका रूपमा लिन सकिन्छ । उनको उत्तरार्द्धकालीन कवितायात्राका कविता संग्रहहरूमा ‘लक्ष्मी कविता संग्रह’लाई, काव्य–खण्डकाव्यहरूमा ‘मायाविनी सर्सी’ खण्डकाव्यलाई र महाकाव्यमा ‘प्रमिथस’ महाकाव्यलाई प्रतिनिधिकृति मान्न सकिन्छ ।

यसैगरी देवकोटाका बालकविताहरूका प्रतिनिधिकृतिका रूपमा उनका ‘सुनको बिहान’ र ‘पुतली’ बालकविता संग्रहलाई अघि सार्न सकिन्छ भने उनका हाँस्यव्यङ्ग्य कविताहरूको प्रतिनिधित्व ‘मनोरञ्जन हाँस्यव्यङ्ग्य कविता’ संग्रहले अनि गीतिकविता वा गीतहरूको प्रतिनिधित्वचाहिँ ‘लक्ष्मी गीति संग्रह’ले गर्छ ।

देवकोटाका विशुद्ध प्रगतिवादी क्रान्तिकारी कविताहरूको प्रतिनिधित्व गर्ने ‘पहाडी पुकार’लाई र उनको रोमान्टिक प्रगतिवादी क्रान्तिकारी गीति नाट्य ‘कृषिबाला’लाई मान्न सक्छौं ।

महाकवी देवकोटा उदार मनका थिए । आफु गरिब थिए तर, बाटोमा कतै हिँड्दै गर्दा कोही माग्ने देखे भने आफुले लगाएका लुगा समेत फुकालेर दिन्थे भनिन्छ ।
विकिपेडियाको सहयोग

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार