लिभरपुलकाे लम्बियाे यात्रा

२०७७ असार ९ मङ्गलबार, एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ। एभर्टनको घरेलु मैदानमा आइतबार राति खेलिएको खेलमा लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो। यस बराबरीले लिभरपुलको उपाधि यात्रा अझै दुई खेल लम्बिएको छ। लिभरपुललाई च्याम्पियन बन्न दुई जितको आवश्यक छ।

घरेलु टोलीमाथि लगातार आक्रमण बुने पनि लिभरपुलले गोल गर्न सकेन। लिभरपुलको प्रयासमा एभर्टनको रक्षापंक्ति बाधक बनेको थियो। पहिलो हाफमा मात्र लिभरपुलले तीनवटा उत्कृष्ट अवसर गुमाएको थियो। ३०औं मिनेटमा जोय मटिपको सशक्त प्रहार पोस्टमाथि हुइँकिएको थियो। लगत्तै मिनामिनो पोस्ट नजिक चुकेका थिए।

दोस्रो हाफमा पनि एउटै लय समाएको लिभरपुलले उत्तिकै अवसर गुमायो। ५१औं मिनेटमा रोवर्टो फर्मिन्हो वान भर्सेस वानको मौकामा चुकेका थिए। त्यसपछि रिर्चालिसनले दुईवटा मौका खेर फालेपछि लिभरपुल अंक बाँड्न बाध्य बन्यो। एभर्टनले दोस्रो हाफमा गोल गर्ने दुईवटा फितलो अवसर बनाए पनि सफल हुन सकेन। खेलभर रक्षात्मक रणनीति अपनाएको एभर्टन आफ्नो रणनीतिमा सफल देखियो। यस बराबरीले ३० वर्षपछि उपाधिको मुखमा रहेको लिभरपुलको उपाधि यात्रा अझै दुई खेल लम्बिएको छ।

बराबरीसँगै ३० खेल सकेको लिभरपुलको ८३ अंक छ। लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा २३ अंकले अगाडि छ। एक खेल कम खेलेको सिटीको ६० अंक छ। लिभरपुलसँग अंक खोसेको एभर्टन ३८ अंकसहित १२औं स्थानमा छ।

यसैगरी आइतबार राति नै भएको अर्को खेलमा चेल्सीले एस्टन भिल्लालाई उसैको मैदानमा २–१ गोलले हराएको छ। चेल्सीको पुनरागमन जितमा क्रिस्टियन पुलिसिकले ६०औं र ओलिभर गिरोडले ६२औं मिनेटमा गोल गरेका थिए। यसअघि एस्टन भिल्लाका कोर्टनी हाउसले ४३औं मिनेटमा सुरुआती गोल गरेका थिए। जितसँगै चेल्सीले चौथो स्थान थप बलियो बनाएको छ। चेल्सीको ३० खेलबाट ५१ अंक पुगेको छ। तेस्रो स्थानमा रहेको लेस्टर सिटीको ५४ अंक छ। चेल्सीसँग पराजित एस्टन भिल्लाको २६ अंक छ। १९औं स्थानमा रहेको एस्टन भिल्लालाई रेलिगेसनको दबाब छ।

अर्को खेलमा न्युक्यासल युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३–० गोलले हरायो। घरेलु मैदानमा भएको एकपक्षीय खेलमा न्युक्यासललाई जिताउन एलन सेन्ट म्याक्सिमिनले ५५औं, म्याट रिचिइले ६९औं र जोयलिन्टनले ७८औं मिनेटमा गोल गरेका थिए। सेफिल्डका जोन इगन ५०औं मिनेटमा दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए। जितसँगै ३८ अंक बनाएको न्युक्यासल १३औं स्थानमा छ। यसअघि ४४ अंक बनाएको सेफिल्ड सातौं स्थानमा छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार