रोनाल्डोले गरे सिजनको २२औं लिग गोल

२०७७ असार ९ मङ्गलबार, एजेन्सी ।  सिरि ‘ए’ मा युभेन्ट्सले बोलोग्नालाई पराजित गरेको छ। शीर्ष स्थानको युभेन्ट्सले २-० को जित निकालेको हो।

युभेन्ट्सका डि लिटलाई बोलोग्नाका स्टेफानो डेन्सविलले फाउल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गरे। युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले २३ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे।

जारी सिजनमा रोनाल्डोको यो २२औं लिग गोल हो। उनले गत सिजन २१ गोल गरेका थिए। खेलको ३६ मिनेटमा पाब्लो डिबालाले युभेन्ट्सका लागि दोस्रो गोल गरे। खेलको अन्त्यमा युभेन्ट्स १० खेलाडीमा सीमित बन्यो। इन्जुरी टाइमको पहिलो मिनेटमा डानिलो दोस्रो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए।

जितसँगै उपाधि रक्षा अभियानमा रहेको युभेन्ट्सको २७ खेलबाट ६६ अंक भएको छ। एक खेल कम खेलेको दोस्रो स्थानको लाजियोको ६२ अंक छ। लाजियोले बुधबार एटलान्टासँग खेल्नेछ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार