महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन

२०७७ मङ्सिर ११ बिहीबार, काठमाडौं । महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो । याे खबरले विश्व फुटवल जगत स्तब्ध छ ।

दुई साताअघि मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । ६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो ।

सफल शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए । अघिल्लो महिना मात्र ६०औं जन्मदिन मनाएका उनलाई क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना दिएका थिए ।

अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए । उक्त खेलमा उनले आफुलाई अस्वस्थ महसुस गर्दै चाँडै नै टचलाईन छाडेका थिए ।

यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा रहेका थिए । उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए । म्याराडोनाले ६०औं जन्म दिन समेत आइसोलेसनमा मनाएका थिए । म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।

उनले फुटवल करियरमा ४९० खेल खेलेर ३११ गाेल गरेका छन् । अर्जेन्टिनाकाे राष्ट्रिय टाेलिका लागि ९१ खेल खेल्दै ३४ गाेल गरेका छन् ।

काे हुन् म्याराडाेना ?

डिएगो आर्मैन्डो माराडोना (३० अक्टोबर १९६०मा लानुस, ब्यूनस आयर्स जन्म) अर्जेन्टीनाका पूर्व फुटबल खेलाडी हुन् । बालक छँदैदेखि उनको चर्चा सुरु भएको हो, जतिखेर उनी केवल दस वर्षका थिए। त्यतिबेला म्याराडोनालाई ठूला प्रतियोगिताहरूमा मध्यान्तरका बेला मैदानमा बोलाईन्थ्यो, जहाँ उनी आफ्नो फुटबल सन्तुलन कला देखाएर दर्शकलाई मन्त्रमुग्ध पार्थे।

उनले खेलाउन थालेपछि बल कहिले खुट्टामा, कहिले टाउकामा, कहिले घुँडामा, ढाडमा, काँधमा अनि कहिले तिघ्रामा ! बल त खस्नै नपाउने ! पछि गएर, म्याराडोनाको यो बल-सन्तुलन कला स्थानीय एटलान्टा रंगशालामा लामो समयसम्म दर्शकको अनुरोधमा परम्पराजस्तै बन्यो।

त्यसैताका दसवर्षे म्याराडोनालाई पहिलोपटक टेलिभिजनले अन्तर्वार्ता लिँदै भविष्यको योजनाबारे सोध्यो। म्याराडोनाले सहज पाराले जवाफ दिँदै भनेका थिए, “राष्ट्रिय टोलीबाट खेल्दै विश्वकप उपाधि जित्नु मेरो कल्पना, सपना र जपना हो ।” नभन्दै २६ वर्षको उमेरमा सन् १९८६मा उनले झन्डै आफू एक्लैको भरमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताइछाडे।

त्यो विश्वकपलाई ‘कोपा म्याराडोना’ अर्थात् म्याराडोनाको विश्वकप भन्ने गरिएको छ। चार वर्षपछि उनकै नेतृत्वमा अर्जेन्टिना फेरी एकपटक विश्वकपको फाइनलमा पुग्न सफल भएको थियो।

स्पेनको बार्सिलोना क्लबमा उनी सधैँ सम्मानित छन् । अझ, उनी लामो समयसम्म आबद्ध रहेको इटालीको नेपोली क्लब त उनलाई आफ्नो भगवान् नै मान्छ । उनका जीवनमा अनेक उतारचढावहरू आए। तर, उनी जतिबेलासम्म खेले, दिलोज्यानका साथ इमानदारी र समर्पित भावनाले खेले।

सन् १९९४मा अमेरीकामा भइरहेको विश्वकपको लिग चरणको खेलका बेला मूत्र- परीक्षणमा प्रतिबन्धित औषधी पाइएको आरोपमा अपमानजनक ढङ्गले विश्वकपबाट बाहिरिएका  थिए ।  सन् १९८६को क्वार्टरफाइनलमा इङ्ल्याण्डविरुद्ध म्याराडोनाले गरेको दोस्रो गोललाई शताब्दीकै उत्कृष्ट गोल मानिन्छ ।

त्यो पहिलो हाते गोल पनि थियो, जसको चाल रेफ्रीले पनि पाएनन्। खेलको समाप्तिमा म्याराडोनाको भनाइ थियो, “द ह्यान्ड अफ गड स्कोर्ड द फस्ट गोल…!” अर्थात् ‘यो पहिलो गोल ईश्वरको हातले गरेको गोल हो’। फुटबल जगत्मा त्यो क्षण र उनको त्यो भनाइ कहिल्यै कसैले बिर्सन नसक्ने प्रसंग हो, अझ खासगरी बेलायती फुटबल समर्थकहरूले।

निःसन्देह, सन् १९८६को मेक्सिको विश्वकप एकल रूपमा अर्जेन्टिनी ‘जिनियस’ म्याराडोनाको विश्वकप थियो । २२ जून १९८६मा अर्जेन्टिना र इङ्ल्याण्डबीच क्वार्टरफाइनल खेल यस्तो पृष्ठभूमिमा भएको थियो, जुनबेला चार वर्षपहिले ती दुई देशले फकल्याण्ड टापूको स्वामित्वलाई लिएर संहारकारी युद्ध गरेका थिए । सैनिक युद्धभूमिमा पराजित भएको अर्जेन्टिना फुटबलको मैदानमा बदला लिन उत्सुक भएको पृष्ठभूमि थियो त्यसको।

अर्जेन्टिनाका कप्तानका रूपमा उनले आफ्नो देशलाई सन् १९९०को इटाली विश्वकप फाइनलसम्म पुर्याए पनि प्रतिद्वन्द्वी पश्चिम जर्मनीविरुद्ध १-०ले पराजित हुनुपरेको थियो।

छ वर्षको उमेरदेखि नै फुटबलसित नाता जोडेका म्याराडोना धेरैधेरै जनालाई फुटबल खेलप्रति आकषिर्त गराउने उत्प्रेरक पनि हुन्। उनले अर्जेन्टिनोज जुनियर्स, बोका जुनियर्स, नेपोली, सेभिलाजस्ता क्लबहरूबाट खेले र ती क्लबहरूलाई अभूतपूर्व सफलता दिलाएका छन्।

खासगरी इटालियन क्लब नेपोलीका लागि त उनी भगवान् नै मानिन्छन् । कुल २७ वर्षको आफ्नो लामो र विवादग्रस्त सक्रिय फुटबल जीवनमा उनले जति सुनाम कमाए, त्यति नै बदनामी पनि पाए। जति आकर्षण कमाए, त्यति नै विकर्षण पनि पाए । उनी विश्वमै सम्भवतः एक मात्र त्यस्ता फुटबल खेलाडी हुन्, जसका जति धेरै प्रशंसक-समर्थकहरू छन्, त्यति नै आलोचकहरू पनि । विकिपेडियाकाे सहयाेगमा

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार