‘चक्रपथ विस्तारमा बुद्धको हजार मूर्ति स्तूपा भत्किदैन’

२०७७ मङ्सिर २३ मङ्गलबार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौँ चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्रभित्रका बुद्धको मूर्ति, स्तूपा नहटाइने बताएका छन्। स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔँ अभियानको ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्वाङले सम्पदाको संरक्षण गरिने बताए।

उनले सडक विस्तारको क्रममा कम्तीमा पनि स्वयम्भू क्षेत्रमा रहेको भगवन् बुद्धको हजार मूर्ति स्तूपा जोगाउनुपर्छ भन्ने बुझाइ प्रष्ट भएको बताए। उनले भने, “हाम्रो आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मूर्तिको स्तुपा जोगाउनुपर्छ भन्ने प्रष्ट भएको छ ।”

प्राविधिक रुपमा सम्भव भएसम्म स्वयम्भू क्षेत्रका अरु पनि सम्पदा जोगाइने मन्त्री नेम्वाङले बताए । सरकार विभिन्न समुदायको संस्कृति संरक्षणमा मात्र नभएर नयाँ चरणमा विकास गर्न लागि परेको उनको भनाइ छ । उनले भने, “नयाँ संविधानबाट बनेको यो सरकार नयाँ मुलुक निर्माणमा अघि बढेको छ र सरकारले स्वभावले मुलुकका चौतर्फी विकास गर्न चाहन्छ ।”

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले स्वयम्भू जस्ता सम्पदा सरकारले नै विश्व सम्पदा सूचीमा सूचीकृत गराएकाले त्यसको संरक्षण पनि सरकारको नै जिम्मेवारी भएको बताए। स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔँ अभियानका संयोजक नुर्बु शेर्पाले आफ्नो अभियानमा सरकार सकारात्मक भएको भन्दै विकासको काम पनि नरोकिने र सम्पदा पनि जोगाउने पक्षमा जानुपर्ने बताए ।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, संविधानसभाका सभासद पासाङ शेर्पा र सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पनि सम्पदाको संरक्षण गर्दै विकासलाई अघि बढाउने कुरामा जोड दिए । काठमाडौँ चक्रपथ पहिलो चरणमा कोटेश्वर–कलङ्की विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्ड विस्तारको तयारी अघि बढाएको छ । सडक विस्तारका लागि ११ दशमलव ६ किमी लम्बाइको कलङ्कीदेखि धोविखोला सडक निर्माणस्थल खाली गर्नै काम अन्तिम चरणमा पुगेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार