भारतको आन्ध्र प्रदेशमा ‘रहस्यमय’ रोग : बिरामीको रगतमा भेटियाे सिसा !

२०७७ मङ्सिर २४ बुधबार, काठमाडौं । काेराेना भाइरस (काेभिड १९) महामारीका बिच भारतमा नयाँ राेगकाे आतंक मच्चिएकाे छ ।

आन्ध्र प्रदेशअन्तर्गत पश्चिम गोदावरी जिल्लामा पर्ने एलुरु सहरवासी एक नयाँ रहस्यमयी राेगबाट आतंकित बनेका छन् ।

उक्त राेगबाट ५ सय भन्दा बढी बिरामी परिसकेका छन् भने अहिलेसम्म एक जनाकाे मृत्यु भइसकेकाे छ । सबै बिरामीमा एउटै किसिमका लक्षणहरू देखिएका छन् । उनीहरूमा वाकवाकी लाग्ने, रिंगटा चल्ने, बेहाेस हुने लगायतका लक्षणहरू देखिएकाे इन्डियन एक्सप्रेसले जनाएकाे छ । अस्पताल भर्ना भएकाे केही घण्टामै राेग निकाे हुने गरेकाे पनि बताइएकाे छ ।

बिरामी परेका ५१० जनामध्ये ४३० जना निकाे भइ अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । फोहोर खाना र पानीले यो समस्या निम्तिएको स्वास्थ्य अधिकारीहरूकाे आशंका छ ।

यद्यपी रोगबारे स्पष्ट तथ्यहरु पत्ता लागिसकेका छैनन्, अनुसन्धान सुरु गरिसकिएको छ । नयाँ दिल्लीको एम्स अस्पतालको टोलीले गरेको प्रारम्भिक अध्ययनअनुसार बिरामीको रगतमा सिसा फेला परेको छ ।

एनएनको टोलीले पानी, खाद्य तेल र चामलको नमुना संकलन गरेको छ । टोलीमा सार्वजनिक स्वास्थ्य विज्ञ, एपिडेमिलोजिस्ट, माइक्रोबायोलजिस्ट र खाद्य सुरक्षा विशेषज्ञ सहभागी छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार