घटेन कोरोना ग्राफ, संक्रमितको संख्या ७ करोड नाघ्यो

२०७७ मङ्सिर २६ शुक्रबार, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ७ करोड ६ लाख नाघेको छ भने १५ लाख ८७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ७ करोड ६ लाख ९८ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १५ लाख ८७ हजार ५६३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ४ करोड ९१ लाख ३० हजार ५८० जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ९९ हजार ६९१ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड ६० लाख ३९ हजार ३२३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख १७ हजार ७०९ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २ हजार ९७३ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४२ हजार २२२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४८७ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ६६६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९७ लाख ९६ हजार ९९२ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ६७ लाख ८३ हजार ५४३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७६९ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ७९ हजार ८०१ पुगेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार