ओली सरकारविरूद्ध कांग्रेसकाे प्रदर्शन : काे-कुन जिल्लामा जाँदैछन् ?

२०७७ मङ्सिर २६ शुक्रबार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते सरकार विरूद्ध देशभरका ७७ वटै जिल्लामा प्रदर्शन गर्दैछ । उक्त प्रदर्शनमा पार्टीका शीर्ष नेताहरूकाे पनि उपस्थिति रहने कांग्रेसले जनाएकाे छ ।

शीर्ष नेताहरू देशका मुख्य सहरका प्रदर्शनमा सम्बोधन गर्ने तयारीमा छन् । सभापति शेरबहादुर देउवाले हेटौंडा, वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, महामन्त्री शशांक कोइरालाले विराटनगर, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा, सहमहामन्त्री प्रकाशशरण महत झापा, उपसभापति विमलेन्द्र निधिले भक्तपुरकाे प्रदर्शनलाई सम्बोधन गर्नेछन् ।

यस्तै मुख्यसचिव पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, सहमहामन्त्री प्रकाशशरण महत झापा, युवा नेता गगन थापा कैलालीकाे प्रदर्शनमा सहभागी हुने तय भएकाे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार, औषधि अभाव, महिला हिंसा तथा बलात्कार लगायतका विराेधमा सडकमा उत्रिन लागेकाे कांग्रेसले जनाएकाे छ । वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडककाे विषय पनि साे प्रदर्शनमा उठ्नेछ ।

यस्तै नेविसंघले मंसिर २८ गते अपरान्ह ४ बजे ७७ वटै जिल्लामा सरकारविरूद्ध सिठ्ठी फुक्ने भएको छ । नेविसंघ केन्द्रीय समितिले मंसिर २९ गते देशैभर कांग्रेसले गर्ने प्रदर्शनमा सहभागी हुन समेत निर्देशन दिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार