नेपाली श्रमिक इजरायल पठाउन प्रक्रिया सुरू

२०७७ मङ्सिर २७ शनिबार, काठमाडौं । नेपाली श्रमिक इजरायल पठाउन गरिने आवश्यक प्रक्रिया थालिएको छ।

नेपाल र इजरायल सरकारबीच गत असोजमा भएको श्रम सम्झौताअनुसार कार्यविधि तयार गरी दुई देशबीच प्रोटोकलमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ।

अहिलेकै जस्तो उत्साहले काम भएमा नेपाली श्रमिक इजरायल पठाउन आगामी पुसदेखि छनोट प्रक्रिया सुरु हुनेछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले इजरायलमा नेपाली श्रमिक पठाउने विषयमा छिट्टै प्रोटोकलमा हस्ताक्षर गरिने बताए ।

नेपाल सरकारका तर्फबाट कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर गर्ने अधिकारको मन्त्रिपरिषद्बाट टुङ्गो लागेपछि श्रमिक छनोट प्रक्रिया अगाडि बढ्ने पनि उनको भनाइ छ ।

मन्त्री यादवले भने, “प्रोटोकलमा हस्ताक्षर गर्ने विषय बिहीबारको मन्त्रिपरिषद्को बैठकले टुङ्गो लागेमा यो प्रक्रिया अझै छिटो हुन्छ । ”

नेपालबाट इजरायल सरकारले केयरगिभरका नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायतमा नेपाली श्रमिक लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भएको थियो ।

नेपालका लागि इजरायलका राजदूत गोडरले नेपाल र इजरायलबीच भएको श्रम सम्झौतालाई कार्यान्वयन गर्दै जनावरीदेखि श्रमिक छनोटको प्रक्रिया सुरु गरिने बताए । आजको गोरखापत्र दैनिकमा खबर छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार