संवैधानिक परिषद्को बैठक आइतबार, पाउलान् त ४५ रिक्त पदले पूर्णता ?

२०७७ मङ्सिर २७ शनिबार, काठमाडौं । संवैधानिक परिषदको बैठक भोलि बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । लामो समयदेखि रिक्त रहेका संवैधानिक आयोगहरुमा पदपूर्तिका लागि बैठक बस्न लागेको हो ।

यसका लागि शुक्रबार मात्रै प्रधानमन्त्री केपी ओलीले विपक्षी दलका नेता शेरबहादुर देउवासँग लामै छलफल गर्नुभएको छ । दुई नेताबीच आइतबारको संवैधानिक परिषद्को बैठकका एजेण्डामथि छलफल भएको हो ।

पार्टीभित्र अरु नेता एकातिर भइरहेका बेला प्रधानमन्त्री ओली विपक्षीसँग भने सम्बन्ध विस्तार गर्न खोज्नुभएको देखिएको छ । संवैधानिक परिषदको बैठकको तयारीकै नाममा ओली र देउवाबीच यसअघि पनि पटक–पटक भेटवार्ता भइसकेको छ ।

सरकारले विभिन्न संवैधानिक निकायमा प्रमुखसहित रिक्त ४५ पदमा नियुक्तका लागि सिफारिश गर्न पाउने छ । शुक्रबारको भेटमा प्रधानमन्त्री ओली र देउवाबीच संवैधानिक निकायमा रिक्त पदहरुमा सहमतिमै नियुक्ति गर्न सहमति बनेको बताइएको छ ।

अहिलेको सरकार संसदमा झण्डै दुई तिहाईनिकट संख्याबाट बनेको भए पनि पार्टीभित्रकै किचलोमा फसेकाले विपक्षीसँग अवसर भागबण्डा गर्ने अवस्थामा पुगेको हो ।

विपक्षमा रहेर पनि कांग्रेसले भने राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त मागेको छ । यसैका लागि आज पनि प्रधानमन्त्री र विपक्षी दलका नेता देउवाबीच छलफल हुने जनाइएको छ ।

सभापति देउवा–प्रधानमन्त्रीसँग भेटको विषयलाई काँग्रेसभित्रसमेत नकारात्मक रुपमा लिइएको छ । संघीय संसदको उपसभामुख र संवैधानिक आयोगमा केही हिस्सा पाउने लालचमा सभापति देउवा सरकारका स्वेच्छाचारितामा मौन हुने गरेको काँग्रेसकै नेताको आरोेप छ ।

जसका विरुद्धमा आन्दोलनको तयारी भइरहेको छ उसैलाई पटक–पटक भेट्न जानुले कार्यकर्ताको आत्मसम्मानमा चोट प¥याएको नेताहरुको भनाइ छ ।

यता, ओलीले पनि पार्टीभित्रै भने संवैधानिक निकायमा पदपूर्तिबारे अरु नेतासँग सल्लाह नगरेको नेताहरुले बताएका छन् । देउवाले संवैधानिक निकायमा पाउने भागमा आफू पक्षमा केहीलाई व्यवस्थापन गरेर आगामी महाधिवेशनलाई सजिलो बनाउन खोजेको आरोप पार्टीभित्रै लाग्ने गरेको छ ।

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, मधेसी आयोग, लोकसेवा आयोग, मुस्लिम आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलगायत संवैधानिक निकायका प्रमुखसहित ४५ पद रिक्त छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार