कोरोनाका कारण बन्द सेवा खोल्ने तयारी

२०७७ मङ्सिर २९ साेमबार, काठमाडौं । कोरोनाका कारण बन्द गरिएका क्षेत्रहरूलाई सरकारले खोल्ने तयारी गरेको छ । कतिपय सेवाहरु स्वास्थ्य मापदण्ड अपनाएर सूचारु गरिएगिन अझै बन्द नै अवस्थामा रहेका सेवाहरु पनि सूचारु गर्ने तयारी गरिएको हो । जाडोको बेला भएकाले कोरोनाको जोखिम अझै उच्च रहेको विज्ञहरूले बताइरहेका बेला सरकारी अधिकारीहरुले भने सूचारु गर्ने बारेमा छलफल भइरहेको जनाएका छन् ।

कोभिड महामारीपछि शुरूमा अन्तर्राष्ट्रिय सीमाबाट मालसामानको ढुवानी बाहेक अन्य किसिमका आवतजावतहरू बन्देज गरिएको थियो। हाल भारततर्फ १३ वटा र चीनतर्फ एउटा नाका सञ्चालनमा रहेको गृहमन्त्रालयले जनाएको छ । तराइका कतिपय जिल्लाका बासिन्दाले सीमा वारपारको आवतजावत थप सहज बनाउन माग गरिरहेका खबरहरू प्रकाशित भइरहेका छन्।

लकडाउनलाई खुकुलो पार्ने क्रममा सरकारले राजधानीमा एक दिन जोर र अर्को दिन बिजोर नम्बरका सवारी साधानहरूलाई गुड्न अनुमति दिने निर्णय लिएको थियो । तर महानगरीय ट्राफिक महाशाखाका प्रमुख जनक भट्टराईले जोर बिजोर प्रणाली स्थगन गर्ने बारे कुनै निर्णय आफूहरूलाई नआएको बताए।

कोरोनाका कारण प्रभावित रहेका कतिपय विद्यालयहरूमा मंसिरको पहिलो साताबाट आशिंक रूपमा पठनपाठन शुरू भएपनि अधिकांश अझै पनि बन्द नै रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले धार्मिक स्थल सञ्चालनको लागि आवश्यक मापदण्ड बनाइरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईका अनुसार चरणबद्ध रूपमा तीर्थस्थलहरू भक्तजनका लागि खोलिनेछ।
गृहमन्त्रालयका अनुसार अझै पनि रात्रिकालीन व्यवसाय र सिनेमा हल जस्ता मनोरञ्जनसँग जोडिएको उद्योगमा लागेको बन्देज कायमै छ । मनोरञ्जनसँग जोडिएका उद्योगहरू सञ्चालन गर्नेबारे नीतिगत निर्णय गर्ने तयारी भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार