संवैधानिक परिषद्को बैठक आज, दाहाल-नेपाल समूहको असन्तुष्टि

२०७७ मङ्सिर ३० मङ्लबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

यसअघि आइतबारका लागि बोलाइएको बैठक भने प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बस्न सकेन । हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा ४५ पद रिक्त छन् ।

प्रधानमन्त्री बैठक बोलाएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने असन्तुष्टि जनाएका छन् । स्थायी कमिटीको बैठक चलिरहेका बेलामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिको वातावरण बनाउनुको सट्टा थप विवाद चर्काउन लागेको भन्दै दाहाल-नेपाल समूहले असन्तुष्टि जनाएको हो ।

खाली रहेका पदमा नियुक्तिलाई लिएर प्रधानमन्त्री ओलीले विपक्षी दलका नेता शेरबहादुर देउवासँग पटकपटक छलफल गरेका थिए । यद्यपि सहमति भने जुट्न सकेको थिएन । तर, आजको बैठकमा विपक्षीलाईसमेत सन्तुष्ट पार्ने गरी भागबन्डा गरेर संवैधानिक आयोगहरूमा नियुक्तिको तयारी भएको दावी गर्दै दाहाल-नेपाल समूहको असन्तुष्टि आएको हो । यसले पार्टी विवाद थप चर्काउने उनीहरुको चेतावनी छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार