‘माष्टरसेफ युके’को उपविजेता बने सन्तोष साह

२०७७ पुस ३ शुक्रबार, काठमाडौं । नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता बनेका छन्। उत्कृष्ट तीनसम्म पुगेका साहले उपाधि जित्न भने सकेनन्।

बिबिसी नेपाली सेवाका अनुसार उपाधिबाट विमूख भएका सन्तोषले जित हात नपरे पनि विश्व मञ्चमा नेपाल र नेपाली खानाको जित भएको बताएका छन्। केही हप्ता यता एकपछि अर्को नेपाली खाना चखाएर निर्णायकहरूलाई आश्चर्यमा पार्दै आएका साहले अन्तिम प्रतिस्पर्धामा भने सोचेजस्तो खाना पस्कन नसकेको बताएको पनि बीबीसी नेपाली सेवाले उल्लेख गरेको छ।

उनले अन्तिम चरणको प्रतिस्पर्धामा भैंसीको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार चरेशको थालमा सजाएर पस्किएका थिए। खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि सर्भ गरेका थिए।

प्रतियोगिताको फाइनलमा उनी ढाकाटोपीमा सजिएका थिए। यो प्रतियोगिताबाट आफूले देशलाई चिनाउन सकेकोमा गर्व लागेको उनले बताएका छन्। प्रतियोगिताको उपाधि भने बेलायतकै २५ वर्षीय आलेक्स वेबलले जितेका छन्।

सिराहाको कर्जन्हामा जन्मेका साह विगत २० वर्षदेखि सेफका रुपमा कार्यरत छन्। उनले लामो समय भारतमा पनि सेफ भएर काम गरे। उनी १० वर्षदेखि बेलायतमै काम गरिरहेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार