नेकपा विवादः के दुवै पक्षले एकताको माया मारेकै हुन् ?

२०७७ पुस ४ शनिबार, काठमाडौं । केहि साम्य भएजस्तो देखिएको सत्तारुढ दल नेकपाभित्रको विवाद झन् चर्किएको छ । अध्यादेश फिर्ताको सहमतिपछि तत्कालका लागि विवाद टरेको देखिएपनि गुटगट भेला जारी रहनुले विवाद ‘भुसको आगो’झैं भित्रभित्रै दन्किँदो अवस्थामा रहेको स्पष्ट हुन्छ ।

जसरी विवाद चर्किंदै गएको छ उसरी नै दुवै पक्षका गुटगत भेला तीव्र गतिमा हुन थालेका छन् । कार्यकारी अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रदेश १ अन्तर्गतका जिल्ला पदाधिकारीको भेला शुक्रबार पेरिसडाँडास्थित जनवर्गीय संगठनको केन्द्रीय कार्यालयमा गरे । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताले पनि मदन भण्डारी फाउन्डेसनमार्फत जिल्लास्तरीय भेलालाई तीव्र बनाइरहेका छन् ।

पेरिसडाँडा भेलामा प्रचण्ड–नेपाल समूहले ओली प्रवृत्तिको प्रतिवाद गर्न आफू निकटहरूलाई निर्देशन दिएको छ  । भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डलेले अध्यादेश फिर्ता गर्ने पार्टी स्थायी कमिटीले निर्णय गरे पनि त्यससम्बन्धी प्रक्रिया नबढाएको भन्दै प्रधानमन्त्री ओलीको तीव्र आलोचना गरे । अध्यादेश फिर्ताको प्रक्रियामा जानुको साटो बिहीबार परिषद्को बैठक राख्ने प्रयत्न गरेपछि दाहालले आपत्ति जनाएका थिए । अब पनि फिर्ता नलिए त्यसबाट उत्पन्न हुने परिणाम ओलीले नै भोग्नुपर्ने उनको चेतावनी थियो ।

हुनत, यसअघि पनि उनीहरूले सबैभन्दा पहिले युवा तथा विद्यार्थीहरूको छुट्टै भेला गरी विभाजनको अभ्यास गरेका थिए । यी गुटगत गतिविधिलाई नियाल्दा शीर्ष नेता तहबाटैविभाजनको मानसिकता तय भइसकेको बुझिन्छ । कुरा यतिमात्रै हो- ‘पहिला कसले हात छोड्छ’ या ‘हात छोडेको’ आरोप लगाउन पाइन्छ । तर जति ढिला गऱ्यो त्यति नै आफूलाई क्षति पुग्ने निष्कर्ष निकाल्ने प्रचण्डपक्ष अब धेरै लामो समय धैर्य गर्ने मानसिकतामा देखिँदैन । त्यसैले अबका बैठकहरूमा प्रचण्डपक्ष अलिक आक्रामक बन्ने र केपीविरुद्ध कारबाहीको कुनै पनि निर्णय लिन सक्ने सम्भावना बढेको छ ।

ओली-प्रचण्डबीच बालुवाटारमा भेट
प्रधानमन्त्री ओलीसँग छलफलका लागि अध्यक्ष दाहाल शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार भेटमा समसामयिक विषयमा छलफल भएको थियो । पछिल्लो पटक सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सन्दर्भमा नै नेकपाभित्र बहस जारी छ ।

तर बालुवाटार भेट फलदायी नभएको स्रोतको दावी छ । उक्त भेट आरोप-प्रत्यारोपमै अल्झिएको थियो । समाधानको सूत्र खोजी सहमतिको दिशामा जाने होइन कि विगतमा एकले अर्को पक्षलाई गरेका व्यवहार आद्योपान्त कोट्याउँदै विवाद बढाउनेतिर लागेको देखिन्छ ।

के एकताको माया मारेकै हुन् ?
नेकपाको विभाजन रोकिने सम्भावना अत्यन्त न्यून छ, कसरी र कहिले भन्ने यकीन नभए पनि विभाजन निश्चित हुँदै गएको छ । ओली त बैठकमै मिलेर जान सकिदैन भने अलग भएकै राम्रो भनिसकेका छन्, अब प्रचण्ड–नेपाल पक्षले पनि यहि तयारी गरेको कतिपयको तर्क छ । एकताको कुरा गरे पनि प्रचण्ड-नेपाल पक्षले पनि एकता जोगिएला भन्ने कुरामा माया मारिसकेको हो कि ? यो प्रश्न भने अनुत्तरित नै छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार