ओलीको प्रतिवेदन फिर्ताको प्रस्ताव दाहालद्वारा पुनः अस्वीकार

२०७७ पुस ४ शनिबार, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्धको प्रतिवेदन फिर्ता लिन गरेको प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः अस्वीकार गरेका छन् ।

बिहान १० बजेपछि प्रचण्ड निवास खुमलटार पुगेका ओलीले आफूविरुद्धको प्रतिवेदन फिर्ता लिन गरेको प्रस्ताव दाहालले अस्वीकार गरेका हुन् । अध्यक्ष दाहालले यसअघि पनि अस्वीकार नै गर्दै आएका थिए ।

केही लचकता देखाउँदै दाहाललाई भेट्न उनकै निवास पुगेका ओली त्यहाँबाट सिधै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न पुल्चोक पुगेका छन् । ओली–थापाको भेटका क्रममा मन्त्रीद्वय वसन्त नेम्वाङ्ग र भानुभक्त ढकालपनि सहभागी भएका छन् ।

गत २८ कात्तिकको केन्द्रीय सचिवालय बैठकमा दाहालले पेश गरेका १९ पृष्ठको प्रतिवेदन ओलीले पटक–पटक फिर्ता हुनुपर्ने अडान दोहार्याउँदै आएका छन् ।

यतिसम्म कि, ओलीले दाहालले आफ्नो प्रतिवेदन फिर्ता नलिएसम्म आफू कुनै पनि पार्टी कमिटीको बैठकमा नआउने बताउँदै आएका छन् । सोहीबमोजिम पछिल्लो पटक बसेको स्थायी कमिटी बैठकमा ओली त्यही निहुँ पारेर उपस्थित भएका थिएनन् ।

नेकपाले जारी स्थायी कमिटीको अर्को बैठक भोलिका लागि तय गरेको छ । बैठकको पूर्वसन्ध्यामा ओलीले असन्तुष्टसँगै आफूनिकटका नेताहरुलाई तीव्र रुपमा भेटिरहेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार