प्रधानमन्त्री ओलीले के भनेर फकाए गृहमन्त्री थापालाई ?

२०७७ पुस ४ शनिबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली आज दौढधुपमा हुनुहुन्छ । प्रधानमन्त्रीसमेत रहेका ओलीले आज कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उहाँकै निवास खुमलटार गएर भेट्नुभयो ।

दुई अध्यक्षबीच भेटवार्ता उपाध्यक्ष वामदेव गौतमसमेत सरिक हुनुभयो । ओली बाहिरिएपछि प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच पनि छलफल भएको थियो ।

भेटमा ओलीले अर्का प्रचण्डलाई लिखित ‘आरोपपत्र’ फिर्ता लिन आग्रह गर्नुभएको बताइएको छ । जवाफमा प्रचण्डले प्रस्ताव फिर्ता नहुने भन्दै स्थायी कमिटीको बैठकमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताउनु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभएको छ ।

प्रचण्डसँग कुरा नमिलेपछि प्रधानमन्त्री ओली खुमलटारबाट सिधै गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुल्चोकस्थित मन्त्री क्वाटर पुग्नुभएको थियो । त्यहाँ उनीहरुबीच ‘वान टु वान’ भेटवार्ता भएको थियो ।

गृहमन्त्रीनिकट स्रोतका अनुसार भेटमा ओलीले गृहमन्त्री थापालाई आफ्नो पक्षमा पार्न फकाएको बताइएको छ ।

पार्टी विवाद उत्कर्षमा पुगेका वेला गृहमन्त्री थापा भने पक्ष–विपक्षमा खुल्नुभएको छैन । पार्टी फुटको अवस्थामा पुगेको अवस्थामा उहाँले प्रचण्डलाई नै साथ दिने स्रोतको दाबी छ ।

नेकपा स्रोतका अनुसार अहिले अध्यक्ष ओलीलगायत नेताहरुले पार्टी फुट्न नदिन अन्तिम प्रयास गरिहेको जनाएको छ । यसैका लागि ओलीले आज दौडधुम गरेको उसको दाबी छ ।

त्यस्तै, ओलीले आजै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई पनि भेटवार्ता गर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार