खुमलटारदेखि शितलनिवाससम्म प्रधानमन्त्रीको दौडधुप, के हो यसको रहस्य र संकेत ?

२०७७ पुस ४ शनिबार, काठमाडौं । पछिल्लो समय पार्टीमा सचिवालय देखि केन्द्रीय समितिसम्म अल्पमतमा पर्दै आउनुभएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आजको पूरै दिन भेटवार्तामै बितेको छ । आज बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएका प्रधानमन्त्री ओली पार्टीका अन्य दोस्रो तहका नेताहरु हुँदै साँझ फेरि राष्ट्रपतिलाई भेट्न शितलनिवास पुग्नुभयो ।

यसअघि आफ्ना दूतका रुपमा अन्य नेतालाई पठाउँदै आउनुभएका ओली आज आफै प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको हो । ओली र प्रचण्डबीच भेट हुँदै गर्दा अन्तिम समयमा उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुग्नुभएको थियो भने त्यहाँबाट प्रधानमन्त्री ओली बाहिरिने बित्तिक्कै वरिष्ठ नेता माधवकुमार नेपालसमेत त्यहाँ पुग्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले आज गृहमन्त्री, स्वास्थ्यमन्त्री, कानूनमन्त्री, भूमि व्यवस्थामन्त्री लगायतका दोस्रो तहका नेताहलाई समेत भेट्नुभएको थियो । प्रधामन्त्री अ‍ोलीको आजको यो दौडधुपलाई निक्कै अर्थपूर्ण रुपमा लिइएको छ ।

सचिवालयमा पेस भई हाल स्थायी कमिटीमा पुगेको प्रचण्डको प्रतिवेदन फिर्ता नहुँदासम्म बैठकमा समेत सहभागी नहुने अडान राख्दै आउनुभएका प्रधानमन्त्री ओली यसरी प्रचण्डको निवासमै पुगेर सम्वादको थालनी गर्नुलाई उहाँको सकारात्मक कदम मान्नुपर्ने नेकपा नेताहरु बताउँछन् ।

प्रधानमन्त्री ओली निकटका सचिवालय सदस्य तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको भेटवार्ता निकै अर्थपूर्ण रहेको बताउनुभयो । दुई अध्यक्षका बीचमा निरन्तरजसो भेटवार्ता र छलफल भइरहेको दाबी गर्दै अध्यक्षद्वयबीच बढ्दै गएको हार्दिकताले पार्टीको समस्या समाधानमा ठूलो अर्थ राख्ने नेता नेम्वाङको विश्वस छ ।

नेकपाको स्थायी कमिटी बैठक भोलि बोलाइएको छ । बैठकमा दुवै अध्यक्षले एकअर्कामाथी लाञ्छना लगाउँदै पेस गरेका प्रतिवेदनमाथी भोलिको बैठकमा छलफल हुने बताइएको छ ।

आजको दुई अध्यक्ष भेटले भोलिको यो बैठकलाई पनि केही सहजता ल्याउने प्रचण्डनिकट मानिने स्थायी कमिटी सदस्य गणेश साह बताउनुहुन्छ । उहाँले आजको अध्यक्षद्वय बीचको भेट्लाई सकारात्मक रुपमा लिनुपर्ने भएपनि पार्टीभित्रको गतिरोध अन्त्य हुन भने समय लाग्ने बताउनुभयो ।

कतिपय नेताहरुले भने आज प्रचण्डसँग भएको ओलीको भेट्ले अझ आशंका उब्जाएको बताएका छन् । एउटै पार्टीका दुई अध्यक्षको भेटलाई नराम्रो रुपमा अथ्र्याउन नहुने तर प्रधानमन्त्री ओलीमा इमान्दारिता भने नभएको वरिष्ठ नेता माधव नेपाल निकटकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउनुहुन्छ ।

अध्यादेश फिर्ता नलिई भएको आजको सबै भेटवार्ताले राम्रो सन्देश नदिएको नेतृ शाक्यको टिप्पणी छ ।

मन्त्रिपरिषद्लाई समेत छलेर मंसिर ३० गते ल्याइएको अध्यादेशको चौतर्फी विरोध भएपछि २४ घण्टा नबित्दै प्रधानमन्त्री ओली त्यसलाई फिर्ता लिन स्थायी कमिटीको बैठकमा सहमत हुनुभएको थियो ।

प्रमुख विपक्षी कांग्रेससँग मिलेर संवैधानिक आयोगमा एकलौटी नियुक्तिहरु गर्ने प्रयास असफल भएपछि प्रधानमन्त्री ओली अर्का अध्यक्ष प्रचण्डसँग मिलेर अघि बढ्ने प्रयासमा लागेको कतिपयको बिश्लेषण छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार