प्रिमियर लिग: वेस्टह्याममाथि चेल्सीको सहज जीत, बर्नलीले वुल्भ्सलाई हरायो
७ पुष २०७७, मंगलवार ०७:५१ मा प्रकाशित
खबर कुञ्ज
२०७७ पुस ७ मङ्गलबार, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले सहज जीत हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेस्टह्याम युनाइटेडलाई ३-० ले हराएको हो ।
चेल्सीको जीतमा टामी अब्राहमले दुई तथा थियागो सिल्भाले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएका थिए ।
खेलको १०औं मिनेटमा थियागो सिल्भाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । चेल्सीका डिफेन्डर बेन चिलवेल १०औं मिनेटमा नै चोट बोक्दै मैदानबाट बाहिरिएपछि उनको स्थानमा एमरसन प्रवेश गरेका थिए ।
गोल फर्काउन प्रयासरत वेस्टह्यामले केही अवसरहरु पाएपनि कुनैमा चेल्सीका गोलरक्षक र डिफेन्डर बाधक बनेका थिए भने केही प्रहारले पोस्टको दिशा लिन सकेन ।
दुई गोल गरेका टामी अब्राहम
दोस्रो हाफको ७८औं र ८०औं मिनेटमा टामी अब्राहमले दुई गोल गरेपछि चेल्सी ३-० ले अघि बढ्यो । वेस्टह्याम खेलमा फर्कन नसक्दा अन्तिम नतिजा त्यही हुन पुग्यो ।
जीतसँगै चेल्सी १४ खेलबाट २५ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ भने पराजित वेस्टह्याम २१ अंकसहित १०औं स्थानमा छ ।
बर्नलीले वुल्भसलाई हरायो
गएराति नै भएको अर्को खेलमा बर्नलीले वुल्भरह्याम्पटन वान्डर्रसमाथि २-१ को जीत निकालेको छ ।
घरेलु मैदानमा भएको खेलमा बर्नलीलाई जिताउन एसले बार्नस र क्रिस वूडले १-१ गोल गरे । वुल्भसका फाबियो सिल्भाले अन्त्यतिर पेनाल्टीमार्फत् फर्काएको गोल सान्त्वना बन्यो ।
यस जीतले बर्नली १३ अंक जोड्दै १६औं स्थानमा उक्लिएको छ भने पराजित वुल्भ्स २० अंकसहित ११औं स्थानमा छ ।
ट्रेन्डिङ
दरबार छाड्नुमा मिडियाको मुख्य हात
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ