राजनीति निष्ठाका लागि कि सत्ताका लागि ?

२०७७ पुस ११ शनिबार, काठमाडौं । राजनीतिमा इमान्दारीता, लगनशीलता र त्यागको कुनै महत्व नहुने चरितार्थ हुँदै गएको छ । राजनीतिमा जसले बढी ‘बार्गेनिङ्ग’ गर्न सक्यो, जो बढी नेतृत्वको पहुँचमा पुग्यो उसैलाई पटक–पटक अवसर दिइँदोरहेछ भन्ने दृष्टान्त ओली सरकारले शुक्रबार गरेको मन्त्रिपरिषद् विस्तारका क्रममा देखियो ।

पार्टीभित्रको आन्तरिक कलहमा प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर संकटमा पर्दा हरदम साथ दिनेहरुलाई समेत ओलीले बाइपास गर्दै बार्गेनिङ्गको राजनीति गर्नेहरुलाई काखी च्यापे । नेकपाभित्रको गुटगत राजनीतिमा प्रचण्ड–माधव नेपाल खेमामा रहेर पनि सत्ताका लागि ओलीसँग बार्गेनिङ्ग गर्नेहरुलाई नै प्रधानमन्त्रीले काखी च्यापेपछि इमान्दार र त्यागको राजनीति गर्नेहरु सधैं पछाडी पारिन्छन् भन्ने देखिएको हो ।

दुई दशकदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका क्षमता र योग्यता भएकालाई प्रधानमन्त्री ओलीले चिन्न नसकेकोको स्वयं नेकपाका उनी निकट कार्यकर्ताहरुको बुझाई छ । ‘गुट उपगुटको राजनीतिभन्दा बाहिर रहेर नैतिकता, त्याग र इमान्दारीताको राजनीति गर्नेहरुलाई नेतृत्वको रुचाउँदो रहेनछ भन्ने आभाष भयो । हिजो मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्रीले जसले बढी बार्गेनिङ्ग गरे उनैलाई काखी च्यापेको देखियो ।’ नेकपा नेतृ भगवती चौधरीको बुझाई छ ।

उनले सामाजिक सञ्जालमा संक्षिप्त एक स्थिति राख्दै लेखेकी छन्, ‘यहाँको राजनीति पहुँच र बार्गेनिङ्ग गर्नेहरुको लागि हो, यो कुरा नेतृत्वले तब मात्र बुझ्दछ जब चुनावमा हात पर्छ शून्यता ।’ उनले जनताको ‘पावर’ के हो राजनीति गर्नेहरुले बुझ्न नसकेको तर्क पनि गरेकी छन् । भगवती चौधरीको असन्तुष्टीमा सांसद शान्ता चौधरीको पनि सहमति छ । पूर्वकमलरी हुँदै सांसद भएकी शान्ता प्रधानमन्त्रीका पक्षमा रहेपनि उनलाई ओलीले हेर्न सकेका छैनन् ।

पार्टीभित्रको आन्तरिक कलहमा सरकारले यथोचित कार्य गर्न नसक्दा जनतामा चरम निराशा छ । यहि बेला सरकारले क्षमता र योग्यता नहेरी सत्ताको बार्गेनिङ्ग गर्नेहरुलाई अवसर दिएपछि पार्टीभित्रै ओलीको पक्षमा रहेकाहरु पनि निराश भएका छन् । ‘आफ्नो पक्षका इमान्दार, योग्यता र क्षमता भएका नेता कार्यकर्ताहरु चिन्न ओली असफल भएका छन् ।’ सुनसरीका पुराना बामपन्थी नेता भन्छन् ।

अहिले नेकपाभित्रको आन्तरिक संघर्षमा पद र पावरलाई तराजूमा राखेर तौलने काम भइरहेको छ ।

शीर्ष नेताहरुको आन्तरिक संघर्षमा पार्टी फूटको अन्तिम घडीमा रहेको फाइदा उठाउँदै पूर्वमाओवादी र एमालेकै केही नेताहरुले सत्ता प्राप्तिको खेल खेलेका छन् । यसको उदाहरण हो पूर्वमन्त्री रघुवीर महासेठ दम्पत्तिको राजनीति । श्रीमान रघुवीर महासेठ र श्रीमती जुलीले नेकपाको आन्तरिक कलहमा आफूलाई सधैं सत्ताको वरीपरी राखे । यसअघि ओली सरकारमै भौतिक पूर्वाधार यातायातमन्त्री भएका महासेठले श्रीमतीलाई ओली क्याम्पमा पठाएर मन्त्री बनाउन सफल भए ।

जुलीलाई प्रधानमन्त्रीले हिजो महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाए । यसअघि जुलीको स्थानमा लिलानाथ श्रेष्ठ मन्त्री थिए । उनलाई कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । श्रेष्ठ पनि अवसरको राजनीति गर्नेमा पर्छन् । कुनै बेला ओलीको विश्वासिलो पात्र रहेका उनी नेकपाभित्रको कलहमा प्रचण्ड–माधव खेमामा नजिकिएपछि ओलीले आफ्नो पक्षमा पार्न मन्त्री पद नै दिनुपर्यो ।

त्यसो त पूर्वमाओवादी तर्फका पाँच जनालाई ओलीले मन्त्री बनाएका छन् । टोपबहादुर रायमाझी, मणिचन्द्र थापा, प्रभु शाह, गौरीशंकर चौधरी र दावा लामालाई ओलीले आफ्नो कित्तामा ल्याउन सत्ताकै लोभ देखाए । प्रचण्ड क्याम्पमा रहे पनि अन्तिम समयमा मन्त्री पाउने भएपछि मात्रै उनीहरु ओली क्याम्पमा भित्रिएका हुन् भन्ने प्रष्ट छ । रामबहादुर थापा ‘बादल’को पनि त्यहीँ अवस्था छ ।

प्रधानमन्त्रीले सरकार टिकाउनकै लागि मन्त्री पद विक्री गरेको इमान्दार कम्युनिस्टहरुको बुझाई छ । ‘आफ्नै पक्षका इमान्दार नेता कार्यकर्ताहरुलाई अवसर दिएको भए त्यसले राम्रो म्यासेज जान्थ्यो । प्रचण्ड पक्षले सत्ताको बार्गेनिङ्ग गरेकै रहेछन् भन्ने देखिन्थ्यो । तर, उहाँले आफ्नालाई पाखा लगाएर बाहिरकालाई अवसर दिनुभयो ।’ राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी भन्छन्–‘मन्त्री हुनकै लागि राजनीति गर्नेहरुले सत्ताको जोड घटाउमा उनलाई कतिबेला लात हान्छन् थाहा छैन । अहिले नेकपाभित्रको रडाको सत्ता र कुर्सीकै लागि भएको हो ।’

ओली क्याम्पमा विश्वासिलो नेता नभएकै हो ?
नेकपाको विभाजनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब इमान्दार नेता तथा कार्यकर्ताको खडेरी नै लागेको हो ? प्रश्न उठेपनि अझैपनि कम्युनिस्ट सिद्धान्त र इमान्दारीताको राजनीति गर्नेहरुको कमी छैन ।

उदाहरणका लागि हामीले भगवती चौधरीलाई नै लिन सक्छौं । नेकपा एमालेको नवौं महाधिवेशनदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिलोज्यान दिएर सहयोग गर्दै आएकी भगवती चौधरीलाई ओलीले कहिल्यै चिन्न सकेनन् । दोस्रो संविधानसभा तथा गएको आमनिर्वाचनमा समेत राजनीतिक षड्यन्त्रको शिकार भएकी चौधरीले पार्टीमा न्यायका लागि पटक–पटक अनुरोध गरिन् । तर, पार्टीको नेतृत्व र सरकारकै नेतृत्वमा पुगे पनि ओलीले उनलाई आवश्यक पर्दा साथ दिएको देखिएन । दुई–दुई पटक विजयकुमार गच्छदारको जालझेलमा जितेको चुनाव हार्दा न्यायका लागि उनले कानूनको ढोका ढक्ढक्याउँदा पनि अहिलेसम्म सुनुवाई भएको छैन ।

‘कहिलेकाहीँ यहाँको राजनीति देखेर वितृष्णा लाग्छ । नेपाली राजनीति इमान्दार, नैतिकवान् र क्षमता भएकाहरुले भन्दापनि बार्गेनिङ्ग गर्नेहरुले मात्र गर्न सक्दारहेछन् भन्ने भयो ।’ चौधरी भन्छिन् ।

उनले गएको आम निर्वाचनमा विजयकुमार गच्छदारले षड्यन्त्र, जालझेल गर्दै प्रशासनलाईसमेत प्रभावमा पारेर चुनाव जितेको भन्दै न्यायका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेपनि अहिलेसम्म एउटा बहस हुन सकेको छैन । भगवती चौधरीसँग ३२१ को झिनो मतान्तरले जित हासिल गरेका गच्छदारले प्रहरी प्रशासन लगाएरै चुनाव जितेको भन्दै आलोचना भएको थियो । त्यसअघिको संविधानसभा निर्वाचनमा पनि उनले चौधरीमाथि त्यसै जालझेल गरेका थिए ।

आम निर्वाचनमा पार्टीले झण्डै दुई तिहाईको मत ल्याएपछि अदालतबाट न्याय पाउने आश गरेकी चौधरी अब भने निराश भएकी छन् । ‘मैले त सिद्धान्त, विधि र पद्दतिका लागि राजनीति गरेकी थिएँ । पार्टीमा केपी बा अल्पमतमा पर्दापनि उहाँको ऊर्जा र सकारात्मक भिजनमा साथ दिएकी थिएँ, तर, पछिल्लो घटनाक्रमले भने केही निराश छु ।’ उनी भन्छिन् । भगवती चौधरी जस्तै आस्था, सिद्धान्तको राजनीति गर्ने धेरै नेताहरु बार्गेनिङ्गको राजनीतिबाट पीडित भएका छन् । क्षमता, योग्यता हुँदाहुँदै पछि परेका छन् ।

राजनीति भनेकै साम दाम दण्डभेद अपनाएर गर्ने कार्य हो तर, जनता र देशको सर्वोत्तम हितका लागि सोचेर राजनीति गर्नुपर्छ । यहाँ त व्यक्तिगत स्वार्थका लागि राष्ट्र र जनताकै तिलाञ्जली दिने हर्कत भइरहेकाले अब नेपाली राजनीतिमा खासगरी कम्युनिस्ट राजनीतिमा इमान्दारीता, नैतिकता, योग्यता र क्षमता भएकाहरुको कदर हुँदोरहेनछ भन्ने नजिर स्थापित हुँदै गएको देखिन्छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार