चिनियाँ कम्युनिष्ट पार्टीको भ्रमणले के अर्थ राख्छ ?

२०७७ पुस १२ आइतबार, काठमाडाैं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री नेतृत्वको एक उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौं आउँदै छ । नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी चीनका नेताको टोली आजदेखि नेपालको भ्रमणमा आउँन लागेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोली काठमाडौं उत्रिन लागेको हो । झण्डै दुई तिहाइको सरकार चलाएको नेपाल कम्युनिष्ट पार्टीले संसद् विघटन गर्नुका साथै पार्टीमा विभाजन आएपछि उत्पन्न परिस्थितिबारे बुझ्न सो टोली नेपाल आउने अनुमान गरिएको छ ।

उक्त टोलीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका दुवै खेमाको नेतृत्व र कांग्रेसका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ । यद्यपि, भेटवार्ताको कार्यतालिका शनिबारसम्म सार्वजनिक भएको छैन ।

चीनले नेपालमा स्थिरता, सुशासन र विकासका लागि नेकपाको झन्डै दुईतिहाइ जनमतको सरकार आफ्ना लागि पनि भरपर्दो शक्ति हुने विश्वाससाथ सम्बन्ध विकास गरेर लैजान चाहेको थियो । सोही कारण पनि नेकपाभित्रको विवादलाई उसले नजिकबाट हेर्दै आएको छ । विवाद मिलाउन उसले यो बीचमा निकै मिहिनेत पनि गरेको थियो ।

प्रधानमन्त्री ओलीको कदमपछि नेकपामा आएको विभाजनले चीनलाई चिन्ता र सक्रियता उत्तिकै मात्रामा बढाएर लगेको छ । त्यसपछि चिनियाँ राजदूत होउ यान्छीले नेकपा नेताहरूसँगको दौडधूप बाक्लो बनाइन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, स्थायी समिति सदस्यहरू वर्षमान पुनदेखि कृष्णबहादुर महरासम्म भेट गरेकी थिइन् ।

नेकपा विभाजनपछिको परिस्थितिबारे चासो राख्दै भएको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । कुओ अन्तर्राष्ट्रिय विभागमा ३३ वर्षदेखि कार्यरत छन् । विभागका चार जना उपमन्त्रीमध्ये कुओ सबैभन्दा सिनियर नेता हुन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार