२०२८ मा अमेरिकालाई उछिनेर विश्वकै ठूलो अर्थतन्त्र बन्दै चीन

२०७७ पुस १२ आइतबार, एजेन्सी । चीन यस अघि अनुमान गरिएभन्दा छिट्टै अमेरिकालाई उछिनेर विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने छ । कोरोना भाइरसको महामारीबाट चीनको अर्थतन्त्रमा पुनर्बहाली आइरहँदा अमेरिका मारमा परेकै बेलामा एक वौद्धिक संस्थाले यस्तो प्रक्षेपण गरेको हो ।

पछिल्लो प्रक्षेपण अनुसार चीनले सन् २०२८ मा अमेरिकी अर्थतन्त्रलाई उछिन्ने छ । कोभिड–१९ को महामारी र यसले निम्त्याएको आर्थिक अस्तव्यस्तता निश्चिय नै चीनको पक्षमा रहेको शनिवार सार्वजनिक एक वार्षिक प्रतिवेदनमा सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेश रिसर्चले बताएको हो ।

कठोर खालको लकडाउन अपनाएर चीनले महामारीको व्यवस्थापनमा निपूर्णता देखाएकै बेलामा अमेरिका र अन्य पश्चिमेली देशहरु भने महामारीको चपेटामा आएको सीईबीआरको भनाइ छ ।

सन् २०२१ देखि सन् २०२५ को बीचमा चीनको अर्थतन्त्र वार्षिक औसत ५ दशमलव ७ प्रतिशतले बढ्ने क्रममा रहेको छ । सन् २०२६ देखि सन् २०३० को बीचमा भने वार्षिक औसत वृद्धिदर सुस्ताएर साढे ४ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ । सन् २०२१ मा अमेरिकी अर्थतन्त्र महामारीको प्रभावबाट उब्रिएर तीव्र दरमा बढेपछि सन् २०२२ देखि सन् २०२४ को बीचमा औसत वार्षिक वृद्धिदर १ दशमलव ९ प्रतिशत रहने बताइएको छ ।

त्यसपछिको अवधिमा भने यो दर थप घटेर १ दशमलव ६ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ । सन् २०३० को दशकको शुरुमा भारतले नउछिन्दासम्म जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्रमा रहने र जर्मनी भने चौथौंबाट पाँचौं स्थानमा झर्ने बताइएको छ । अहिले पाँचौं ठूलो अर्थतन्त्रको रुपमा रहेको बेलायती अर्थतन्त्र सन् २०२४ देखि छैठौं स्थानमा सीमित बन्ने सीईबीआरको भनाइ छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार