के विभाजित नेकपा जोड्ने चीनको प्रयास सार्थक होला ?

२०७७ पुस १३ साेमबार, काठमाडौं । नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला भएको उत्तरी चीनका नेताको नेपालको भ्रमणला्रइ्र्र चासोका साथ हेरिएको छ । नेकपालाई फेरि जुटाउन सकिने सम्भावनाको खोजी गर्दै आइतबार काठमाडौं उत्रिएको टोलीले राजनीतिक भेटवार्तालाई जारी राखेको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको सद्भाव सन्देश बोकेर चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डलले नेकपाको एकताको सम्भावनाबारे खोजी गर्ने ‘म्यान्डेट’ लिएर आएको बताइन्छ । येचौ तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताका लागि ७ फागुन २०७४ मा सात बुँदे समझदारी हुने बित्तिकै पनि नेपाल भ्रमणमा आएका थिए ।

उनले त्यसबेला तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेतालाई भेटेको सार्वजनिक भएको थियो । उनले यी दुई कम्युनिष्ट पार्टीको एकीकरणका लागि सूत्रधारका रुपमा काम गरेको रूपमा अर्थ्याइएको थियो । यसैकारण पनि येचौ नेपाल मामिलामा जानकार चिनियाँ नेता मानिन्छन् ।

येचौ नेतृत्वको टोलीले आइतबार काठमाडौं उत्रिएलगत्तै दुतावासमा ब्रिफिङ लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र सोहि दिन साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरिसकेको छ । ओलीसँगको भेटमा दुई देशको द्विपक्षीय भेटमा चिनियाँ सहयोग र हितका बारेमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईले जानकारी दिए ।

आज नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई उक्त टोली भेट्न लागेको हो । दुवै नेताको सचिवालयका अनुसार चिनियाँ टोलीले आज भेट्ने भनेपनि समय यकिन भइसकेको छैन ।

विभाजित नेकपा जोड्न प्रयास
नेकपाले विभाजनको बाटो समातेका बेला चिनियाँ टोलीको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अढाई वर्षअघि नेपालका दुई कम्युनिस्ट पार्टी एकीकृत भएपछि उत्साही भएको चीन गत साता भएको संसद् विघटन र नेकपा विभाजनबाट चिन्तित छ ।

चीनको सद्भाव, चासो व्यक्त गर्ने मात्र होइन, नेकपालाई फेरि जुटाउन पहल गर्ने उद्देश्यले टोली नेपाल आएको हो । ‘यति छिटै विभाजनको बाटो समात्ने अपेक्षा चिनियाँ कम्युनिष्ट पार्टीले गरेको थिएन,’ नेकपा स्रोतले भन्यो ‘अझै पनि, नेकपाको विवादलाई साम्य पार्न सकिन्छ कि भन्ने बाटो खोज्ने पहलस्वरूप चिनियाँ टोली नेपाल भ्रमणमा आएको छ ।’

अर्काेतर्फ नेकपा बिभाजनको भारत र भारतीय मिडियामा विजय उत्सव नै मनाएको जस्तो गरि प्रस्तुति भयो । भारतीय मिडिया चीन हारेको र भारतले जितेको रुपमा व्याख्या गर्नसम्म भ्याए । नेपालको राजनीतिमा चीनको बढ्दै गरेको प्रभावका बीच नेकपा विभजित हुनुले फेरी एक पटक नेपालको राजनीतिमा भारतको प्रभाव बढेको रुपमा चर्चा हुनथालेपछि चीनको दौडधुप बढेको विश्लेषण पनि गरिएको छ ।

उसो त, नेकपा विवादकै बीच नेपालस्थित् चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीका साथै नेकपाका शीर्ष नेताहरूलाई भेट्दै आएकी छन् । गत जेठमा पनि नेकपामा तीव्र विवाद भएका बेला यान्छी सक्रिय भएर विवाद मिलाउन भूमिका खेलेकी थिइन् ।

यसपटक राजदूत यान्छीको अथक प्रयासपछि पनि नेकपा विभाजित भएपछि उच्चस्तरीय टोली काठमाडौं आएको हो । नेकपाका दुई घटकलाई पुनः एक गराउन यो भ्रमणले कत्तिको सार्थकता राख्छ त्यो भने हेर्न बाँकी छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार