माग सम्बोधन नभएको भन्दै राइडरहरूले गरे पठाओ कार्यालय तोडफोड

२०७७ पुस १३ साेमबार, काठमाडौं । पठाओका राइडरले कार्यालय ताेडफाेड गरेका छन् । आफूहरूको माग सम्बोधन नभएको भन्दै सोमबार युएन पार्कबाट नाराबाजी गर्दै र्‍याली निकालेका पठाओ‌ राइडरहरूले मध्येबानेश्वर पुगेर कार्यालयमा ताेडफाेड गरेका हुन् ।

पठाओ‌ले राईडरहरुलाई कुनैपनि किसिमकाे सेवा सुविधा नदिएकाे, आफू खुशी निर्णय गर्ने गरेको, राइडिङ बापतको कमिसन धेरै लिएर कामदार मारेकाे उनीहरूकाे आरोप छ ।

उनीहरूले कम्पनीलाई एक हप्ताकाे अल्टिमेटम दिँदै पुस ६ गते ११ बुँदे मागपत्र पेस गरेका थिए । पुस १३ गतेसम्म पनि माग पुरा नभएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले कम्पनीमाथि ढुंगामुडा र तोडफोड समेत गरेका छन् ।

के छन् माग ? 

आन्दोलनरत् राइडरहरूले राइडर र यात्रुको अनिवार्य बिमा हुनुपर्ने माग राखेका छन् । यस्तै राइड शेयरिङ्ग बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्ने उनीहरूकाे माग छ । यसैगरी कस्टुमर केयर नम्बर टोल फ्री हुनुपर्ने, बिपिजी सस्पेन्ड हटाउनुपर्ने, स्पेन्ट रेकर्ड राख्नुपर्ने, राइडर र युजर प्यासेन्जर दुवैले राइड क्यान्सिल गर्न मिल्ने लगायत उनीहरूकाे माग छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार