आन्दोलनमा सहभागी उखु किसानले बक्याैता नै नपाइ गुमाए ज्यान

२०७७ पुस १४ मङ्गलबार, काठमाडौं । काठमाडाैंकाे माइतीघर मण्डलामा भएको आन्दोलनमा सहभागी एक किसानको मृत्यु भएको छ । सर्लाही धनकौल छोटवल टोलका करिब ६०/६५ वर्षीय नारायण राय यादवको मंगलबार बिहान हृदयराेगबाट निधन भएकाे किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष राम स्वार्थ रायले जानकारी दिए ।

‘मंगलबार बिहान उहाँकाे मृत्यु भएकाे हाे । म पनि त्यसतर्फ जाँदैछु । विस्तृतमा जानकारी लिन बाँकी छ’, अध्यक्ष राम स्वार्थले भने, ‘उहाँकाे परिवारलाई पनि खबर गरिएको छ । काठमाडौं आउँदै हुनुहुन्छ ।’

मृतक किसानकाे मात्रै २४ लाख ६३ हमार रुपैयाँ लिन बाँकी थियाे । उनकाे बिहानीपख स्वास्थ्य खराब भएपछि अस्पताल पुर्याइएकाे थियाे । मंसिर २८ देखिकाे किसान आन्दोलनमा सहभागी भएका उनकाे उपचारका क्रममा निधन भएकाे हाे । उनी आन्दोलन अवधिभर चाबहिलको कृष्ण प्रणामी मन्दिरमा बसिरहेका थिए ।

हिजाे मात्रै १६ दिनदेखि आन्दोलनरत उखु किसानले हिजाे मात्रै सरकारसँग चार बुँदे सहमती गरेका थिए । सरकारले किसानहरुले चिनी मिलहरुबाट पाउनुपर्ने रकम २१ दिनभित्र दिलाउने प्रतिबद्धतासहितकाे सहमती भएकाे हाे ।

उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार समग्रमा किसानहरूले ९० कराेड बक्याैता पाउन बाँकी छ । सर्लाहीका किसानहरूकाे मात्रै ३६ कराेड बक्याैता लिन बाँकी रहेकाे छ । अघिल्लाे सालमा भएकाे आन्दोलनपछि किसानले आंशिक मात्रै बक्याैता पाएका छन् । ‘देशभर ८४ हजार उखु किसान छन् । सर्लाहीमा मात्रै २५ हजार किसानले उखु खेती गर्दै आएका छन् । २५ हजार मध्ये १२ हजार कृषक पूर्ण रूपमा प्रभावित तथा पीडित रहेकाे पाइएकाे छ,’ संरक्षक मिश्रले भने ।

आन्दोलनका क्रममा ३३ करोड रुपैयाँ बक्यौता उठेको संरक्षक मिश्रकाे भनाइ छ । अहिले भएकाे सहमतीहरू २१ दिनभित्र पुरा नभए उनीहरूले पुनः आन्दोलन सुरू गर्ने चेतावनी समेत दिएका थिए । यद्यपी नारायण रायले सडक संघर्ष गरेपनि बक्याैता नपाइ ज्यान गुमाए ।

सरकार र उखु किसानबीच साेमबार भएकाे सहमतीः

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार