नेकपा प्रचण्ड–माधव पक्षले अर्को चरणको आन्दोलन घोषणा गर्ने

२०७७ पुस १५ बुधबार, काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले अर्को चरणको आन्दोलन आज घोषणा गर्ने भएको छ । आन्दोलनका कार्यक्रमहरु तय गर्न आज स्थायी कमिटिको बैठक बोलाइएको नेताहरुले जानकारी दिएका छन् । पार्टीका केही नेताहरुले तयारी गरेर बनाएका आन्दोलनका कार्यक्रमहरुलाई स्थायी कमिटिले पारित गरेर सार्वजनिक गरिने भएको छ ।

स्थायी कमिटि बैठक पेरिसडाँडा स्थीत पार्टी कार्यालयमा बस्ने जनाइएको छ । बैठक पछि आजै दिउँसो तीन बजे पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरिने भएको छ । नेकपाको प्रचण्ड माधव पक्षले पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनमा जाने घोषणा गरिसेको छ ।

सोही अनुसार पहिलो चरणका कार्यक्रम हिजो सकिएकाले आज दोस्रो चरणका कार्यक्रमहरु घोषणा गर्न लागिएको नेताहरुले बताएका छन् । पहिलो चरण अन्तरगत हिजो देशैभरी बृहत प्रदर्शनको आयोजना गरिएको थियो भने त्यसअघि वडास्थरदेखि केन्द्रीय स्तरसम्मका विभिन्न विरोधका कार्यक्रमहरु गरिएको थियो ।

नेकपाको प्रचण्ड माधव पक्षले आज कार्यकर्ता भेला पनि आयोजना गरेको छ । भेलामा शिर्ष नेताहरु पनि सहभागी हुने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पार्टी विभाजित भएको छ भने असन्तुष्ट प्रचण्ड माधव पक्षले कडा आन्दोलन सुरु गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार