फेयर एन्ड लभ्ली’ बाट फेयर शब्द हटाइने

चर्चित क्रिम ‘फेयर एन्ड लभ्ली’बाट फेयर शब्द हट्ने भएको छ । युनिलिभर कम्पनीले बिहीबार आफ्नो वेबसाइटमार्फत् प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना क्रिमहरूबाट ‘फेयरनेस’, ‘लाइटनिङ’, ‘ह्वाइटनिङ’ जस्ता विभेदपूर्ण शब्द हटाउने जानकारी दिएका हो।

पछिल्लो समय चलेको ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानका बीच युनिलिभरले यस्तो निर्णय गरेको छ । गत मे २५ मा अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडलाई नियन्त्रणमा लिन मिनिसोटाका एक प्रहरी अधिकारीले घाँटीमा घुँडाले थिचेका थिए । फ्लोयडले सास फेर्न नसकेको बताए पनि प्रहरीले नछाडेपछि उनको ज्यान गएको थियो ।

उक्त भिडिओ सार्वजनिक भएदेखि अमेरिकामा नश्लभेद विरूद्ध आन्दोलन चर्किएको थियो । आन्दोलनका क्रममा दासप्रथासँग सम्बन्धित केही सालिकहरू पनि ढलाइएका थिए।

युनिलिभरद्वारा उत्पादित क्रिमहरूमा प्रयोग गरिएका शब्दबारे पनि चर्को आलोचना भएको थियो। यस्ता क्रिमले गोरो बनाउने, अनुहारको चमक बढाउने लगायतले रङ्गभेदी कुरालाई बढवा दिने भन्दै आलोचना भएपछि युनिलिभरले यी शब्द हटाउन लागेको हो।

‘फेयर, ह्वाइट र लाइटजस्ता शब्दहरू सुन्दरताको एकलौटी आदर्श ठिक नभएको हामीले बुझ्यौं र हामीले यसलाई सम्बोधन गर्न चाह्यौं,’ ब्युटी एण्ड पर्सनल केयरकी प्रमुख सन्नी जैनले भनिन्। साथै कम्पनीले फेयर एन्ड लभ्ली क्रिम छाला ‘ब्लिच’ गर्ने  क्रिम नभएको स्पष्ट पारेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार