बागमती प्रदेशका २० सांसदलाई हटाउने मुख्यमन्त्रीको तयारी

२०७७ पुस १६ बिहीबार, काठमाडौं । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने सांसदहरुलाई हटाउन आजदेखि प्रक्रिया थाल्ने हुनुभएको छ । नेकपाको केपी शर्मा ओली समूहका नेता पौडेलले २० जना समानुपातिक सांसदलाई स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआएमा हटाउने प्रक्रिया सुरु गर्ने बताउनुभएको छ ।

उहाँले नेकपाको प्रचण्ड–नेपाल समूहका २० सांसदलाई आजसम्म जवाफ पठाउने समय दिइएको र जवाफ नआए वा चित्त बुझ्दो नआए हटाइने बताउनुभयो । समानुपातिक सांसदहरुलाई हटाउन आफुलाई अधिकार भएको दावी गर्दै उहाँले त्यो प्रक्रिया आजैबाट सुरु हुने बताउनुभयो ।

‘चित्तबुझ्दो स्पष्टीकरण नआएमा मैले उहाँहरुलाई हटाउनका लागि केन्द्रीय अध्यक्षलाई सिफारिस गर्छु’ पौडेलले भन्नुभयो, ‘त्यसपछि अध्यक्षले उहाँहरुलाई हटाइएको जानकारी सहितको पत्र निर्वाचन आयोगलाई पठाउनुहुन्छ ।’ आफुले स्पष्टिकरण सोधेका २० जना मध्ये अहिलेसम्म कसैले पनि जवाफ नदिएकाले सवै हट्ने संभावना रहेको उहाँले स्पष्ट पार्नुभयो ।

बेलुकासम्ममा अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएमा वा माफी मागेमा भने कारबाही नहुने उहाँले बताउनुभयो ।
नेकपा फुटेपछि आरोप प्रत्यारोप र कारबाहीको प्रक्रिया चलिरहँदा आफूमाथि पनि अविश्वासको प्रस्ताव ल्याउने र सबैभन्दा विरोधी प्रचण्ड–नेपाल समूहका सांसदलाई पौडेलले कारबाही गर्न खोज्नु भएको हो ।

ओली समूहका पौडेललाई प्रचण्ड–नेपाल समूहले भने हिजो नै संसदीय दलको नेताबाट हटाइसकेको छ । यसबारे प्रतिक्रिया दिँदै पौडेलले ‘सडकमा बसेर संसदीय दलको नेताबाट कसैलाई निकाल्ने भन्ने हुँदैन । त्यो वाहियात कुरा हो ।’ प्रचण्ड नेपाल समूहले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

मुख्यमन्त्री पौडेलले भने शाक्य पक्षले आफुलाई हटाएको घोषणा गरेपनि त्यो अवैध भएको दावी गर्नुभयो । उहाँले प्रदेश सभाको बहुमत आफ्नै पक्षमा रहेको र काँग्रेसले पनि आफुलाई नै समर्थन गर्नेे विश्वास व्यक्त गर्नुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार