भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ६६ हजारभन्दा बढी

२०७७ पुस १६ बिहीबार, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितकाे सङ्ख्या बिहीबारसम्म एक करोड दुई लाख ६६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २१ हजार ८२२ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितकाे सङ्ख्या एक करोड दुई लाख ६६ हजार ६७४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २९९ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४८ हजार ७३८ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९८ लाख ६० हजार २८० व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ५७ हजार ६६५ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा मात्र कोरोना संक्रमित २१ हजार ४३० जना कोरोना मुक्त भएका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ६७७ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र २१ जनाको मृत्यु भएको छ ।

भारतमा कोभिड १९ शुरु भएयता भाइरस संक्रमणकाे कारण दिल्लीमा १० हजार ५२३ जनाको मृत्यु भइसकेको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १७ करोड २० लाख १८ हजार ४९ को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ ।

भारतमा बुधबार एकै दिनमा ११ लाख २७ हजार २४४ जनाको कोरोना भाइरस नमूना परीक्षण भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका थिए । (रासस/सिन्ह्वा)

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार