नेकपाको प्रचण्ड-माधव पक्षको आज बैठक र प्रदर्शन दुवै

२०७७ पुस २० साेमबार, काठमाडौं । नेकपाको प्रचण्ड माधव समूहको स्थायी कमिटिको बैठक आज पनि बस्न लागेको छ । दिउँसो एक बजेपछि पेरिसडाडास्थीत कार्यालयमा बैठक बस्ने तय भएको नेताहरुले जानकारी दिएका छन् ।

बैठकले भावी आन्दोलनका कार्यक्रम र रणनितिहरु तय गर्ने जनाइएको छ । स्थायी कमिटिको हिजोको बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा पार्टी एकताका बाँकी काम पूरा गर्न र नेताहरूलाई कार्यविभाजन गर्न कार्यदल गठन गरेको छ ।

स्थायी कमिटी सदस्यहरू गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, वेदुराम भुसाल र सुरेन्द्र पाण्डे सदस्य रहेको कार्यदललाई एक साताको समयसीमा दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सबै दलहरू विरोधमा उत्रिए पनि छुट्टाछुट्टैभन्दा संयुक्त कार्यक्रम बढी प्रभावकारी हुने निष्कर्ष बैठकमा निस्किएको थियो । यसअघि सहकार्यको प्रस्ताव गर्दा कांग्रेसले आफ्नो छुट्टै अस्तित्व रहेकाले एकल विरोध गर्ने निर्णय गरेको थियो ।

कांग्रेसलगायतका दल संयुक्त विरोध गर्न नमानेपछि नेकपाको प्रचण्ड–माधव पक्षले अस्ती आफ्नो दोस्रो चरणको आन्दोलन घोषणा गरिसकेको छ  भने कांग्रेसले हिजो आफ्नो छुट्टै कार्यक्रम घोषणा गरेको छ ।

प्रचण्ड माधव समूहले अहिले जनवर्गीय संगठन, प्रदेश संगठनदेखि जिल्ला तहसम्म कार्यकर्ता भेला, प्रशिक्षण र विरोधका कार्यक्रम गरिरहेको छ ।

घोषित कार्यक्रम अन्तर्गत आजदेखि २५ गतेसम्म पालिकास्तरमा भेला सम्पन्न गर्दै प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन गर्ने भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार