परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण होला त पशुपतिको जात्रा सिद्राको व्यापार ?

२०७७ पुस २१ मङ्गलबार, काठमाडौं । भारतीय पक्षको ‘ग्रिन सिग्नल’ दिएपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमण तय भएको छ । ज्ञवाली नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकका लागि आगामी माघ १ गते भारत जान लाग्नुभएको हो ।

सोही दिन साँझ आयोगको बैठक बस्ने र त्यसको भोलिपल्ट केही राजनीतिक भेटघाट गरेर परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ । बैठकको मितिका बारेमा औपचारिक घोषणा हुन भने बाँकी छ ।

यसअघि आयोगको बैठकका लागि नेपालतर्फबाट मंसिरको दोस्रो वा अन्तिम साता प्रस्ताव गरिएको थियो । तर, नेपालले प्रस्ताव गरे पनि भारतले अन्तिम सहमति जनाएको थिएन ।

यसबीच नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण पनि भ्रमणलाई लिएर केही अन्योल बढेको थियो ।

आयोगको पाँचौं बैठक गत वर्ष भदौमा काठमाडौंमा बसेको थियो । उक्त बैठकमा भारतका तर्फबाट विदेश मन्त्री एस जयंशकर सहभागी भएका थिए ।

भारतले छिट्टै प्रधानमन्त्री ओलीको भ्रमण गराउन चाहिरहेको र परारष्ट्रमन्त्री ज्ञवाली त्यसैको तयारीका लागि भारत जान लागेको स्रोतको दाबी छ ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले बैठकको अन्तिम तयारी चलिरहेको र बैठकमा नेपाल–भारतबीचका बृहत् विषयहरुमा छलफल हुने बताउनुभएको छ ।

यो त भयो परराष्ट्रमन्त्री ज्ञवालीको औपचारिक भ्रमणको कुरा । उनले भारत भ्रमण यतिमा मात्र सीमित नहुने विश्लेषण गरिएको छ । उनको भारत भ्रमण पशुपतिको जात्रा सिद्राको व्यापार हुने अनुमान गरिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भारतले दिल्लीमा भेटवार्ता गराउँदैछ । ओलीको भ्रमणको मौका पारेर ज्ञानेन्द्र सुटुक्क दिल्ली जाने र त्यहाँ राजतन्त्र पुर्नस्थापनाका लागि वार्ता हुने बताइएको छ ।

यसैबीच, पूर्वराजा ज्ञानेन्द्र जाडो छल्न भनेर झापा गइसकेका छन् । त्यसपछि उनी सुदूरपश्चिम हुँदै दिल्ली प्रश्थान गर्नेछन् ।

प्रधानमन्त्री ओली गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरुद्धमा रहेको र त्यसैका लागि संसद् विघटन गरिएको दाबी राजावादीहरुले गरिहेका छन् ।

राजावादी आन्दोलनका अगुवामध्येका एक डिल्लीराम खनाल ओलीले कुनै न कुनै स्वरुपको राजतन्त्र फर्काउने दाबी गर्छन् । आलीको गृहनगर दमक निवासी खनाल ओली कहिलै पनि गणतन्त्रवादी नभएको बताउँदै उनकै पालामा राजसंस्थाको पुर्नवहाली हुने निष्कर्ष निकाल्छन् ।

वरिष्ठ पत्रकार पी खरेलको पनि यसमा सहमति छ । उनका अनुसार पूर्वराजा ज्ञानेन्द्रले यसअघि नै भारत, चीन, अमेरिका र युरोपियन युनियनका प्रतिनिधिहरुसँग टुट्टाछुट्टै भेट गरिसकेका छन् । अब ओलीलाई भेट्न बाँकी रहेको र उनलाई भेटेपछि नेपालमा केही नयाँ खिचडी पाक्नसक्ने उनको दाबी छ ।

पछिल्लो समयमा नेपालमा चीनको प्रभाव बढेकोप्रति भारतलाई त्यो चित्त नबुझेको र ओलीलाई प्रयोग गरेर संसद् विघटन गरिएको स्वयम् भारतका विज्ञहरु बताइरहेका छन् ।

बरु राजतन्त्र हुँदै नेपालमा चीनको प्रभाव कम रहेको भारतीय संस्थापन पक्षको बुझाइ देखिन्छ । त्यसैले उनीहरुले पछिल्लो समयमा राजसंस्था र हिन्दूराष्ट्रको कार्ड फालेको बताइन्छ ।

नेपालमा संसद् विघटन हुनु र नेकपा दुई चिरा हुनुलाई भारतीय पक्षले आफ्नो जितको रुपमा हेरेको छ । त्यसैको परिणामस्वरुप आगामि भ्रमणमा भारतले प्रधानमन्त्री ओलीलाई रेडकार्पेत बिछ्याएर स्वागत गर्ने दाबी राजनीतिक विश्लेषक डा. विजय मिश्र बताउँछन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार