मध्यावधि चुनावको तयारीमा आयोगः मतदान केन्द्र निर्धारण तथा पुनरावलोकन गरिदैं

२०७७ पुस २२ बुधबार, काठमाडौं । निर्वाचन आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, २०७७ स्वीकृत गरेको छ ।

आयोगको पदाधिकारी बैठकले मतदान केन्द्र निर्धारण र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यविधि र कार्यक्रम स्वीकृत गरेको हो ।

१७ र २७ वैशाख २०७८ का लागि तय मध्यावधि निर्वाचनका लागि तयारी अघि बढाएको आयोगले निर्वाचनलक्षित गरेर कार्यविधि र कार्यक्रम स्वीकृत गरिएको जनाएको छ । आयोग प्रवक्ता राजकुमार श्रेष्ठले मतदान केन्द्र निर्धारण आधार कार्यविधिमा रहेको र त्यसलाई कार्यान्वयन गर्ने काम कार्यक्रममार्फत हुने जानकारी दिनुभएको छ ।

उहाँका अनुसार मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु भएकै समय पारेर मतदान केन्द्र निर्धारण, स्थल तथा केन्द्र पुनरावलोकनसहितका विषयमा निर्णय गर्न सहज बनाउन आयोगले यस्तो निर्णय लिएको हो । भोलि २३ पुसबाट जिल्लास्तरमा मतदानस्थल तथा केन्द्र निर्धारणसम्बन्धी कार्य प्रारम्भ हुने छ ।

जिल्लामा रहने प्रमुख जिल्ला अधिकारीले मतदाता नामावलीमा नाम रहेका मतदाता संख्याअनुसार केन्द्र पायक अपायक वा थप गर्नुपर्ने भए आवश्यक सुझावसहितको निर्णय दिनसक्ने छन् । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मतदानस्थल तथा केन्द्र सिफारिस समिति रहने छन् ।

समितिले आगामी १७ माघसम्ममा सो कार्य सम्पन्न गरिसक्नुपर्ने छ । आयोगले सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाबाट मतदान केन्द्र पुनरावलोकन कार्यक्रममा आ–आफ्नो तर्फबाट आवश्यक सहयोग गरिदिनसमेत आग्रह गरेको छ ।

आयोगले निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयारी प्रक्रिया सुरु भइसकेको र नामावली तयारीसम्बन्धी कार्य गर्दा मतदानस्थल तथा केन्द्र निर्धारणसम्बन्धी कार्यसमेत सँगै गर्नुपर्ने भएकाले अन्तिम मतदाता नामावली प्रकाशन गर्नुअगावै स्थल तथा केन्द्र पुनरावलोकन कार्य सम्पन्न गरिने जनाएको छ ।

सरकारले आगामी १७ र २७ बैशाखमा गरी दुई चरणमा सम्पन्न गर्ने गरेर प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेगरी निर्वाचन मिति घोषणा गरिसकेको छ । आयोगले घोषणा भएको मितिमा निर्वाचन सम्पन्न गर्न तयारीका विभिन्न कार्य भइरहेको पनि जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार