सोताङमै सफल प्रसुति शल्यक्रिया भएपछि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता हट्यो

२०७७ पुस २४ शुक्रबार, काठमाडौं । सोलुखुम्बुकोे सोताङ प्राथमिक स्वास्थ्य केन्द्रमै एक गर्भवतीको सफल सल्यक्रिया गरिएको छ । ६ घण्टाभन्दा बढी प्रसूति ब्यथा लागेकी सोताङ गाउँपालिका ५ की चन्द्रीमाया कटेलको बुधबार सल्यक्रियामार्फत प्रसूति गराइएको केन्द्रले जनाएको छ ।

उहाँलाई ६ घण्टाभन्दा बढी व्यथा लागेपछि बच्चाले दिशा निल्ने खतरा भएका कारण तत्काल अप्रेशन गरेर बच्चा र आमाको ज्यान जोगाउन सफल भएको गाउँपालिका स्वास्थ्य संयोजक श्रीध्वज राईले जानकारी दिनुभयो ।

गाउँपालिकाले एमडी जिपी डाक्टरको ब्यवस्था गरेसँगै सोताङमै प्रसूतिका लागि सल्यक्रिया हुन थालेको केन्द्रले जनाएको छ । यसअघि सामान्य प्रसूति सोताङमै हँुदै आएको भए पनि जटिल प्रकृतिका वा शल्यक्रिया नै गर्नुपर्ने भए हेलिकोप्टर चार्टर गरी काठमाडौं लानुपर्ने बाध्यता थियो ।

सुत्केरी जटिल अवस्थामा पुगेपछि गाडीमार्फत जिल्ला अस्पताल फाप्लु ल्याउँदा आमा र बच्चा दुबैलाई ज्यानको जोखिम हुने भएकाले हेलिकोप्टर नै चार्टर गर्दै आएको स्थानीयले बताएका छन् ।

सोताङमा नै प्रसूति सल्यक्रिया गरिएको यो दोस्रोपटक हो । करिब २ वर्षअघि एक जनाको सल्यक्रिया गरिएको भए पनि त्यसयता डाक्टरको ब्यवस्थापन नहुँदा सेवा बन्द रहेको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार