जलविद्युत् लगानी कम्पनीद्वारा ९ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी

२०७७ माघ ३ शनिबार, काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ ओटा आयोजनामा रू. १० अर्ब ८८ करोड ऋण लगानी गरेको जानकारी दिएको छ ।

कम्पनीले नवौं वार्षिक साधारण सभाका अवसरमा सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले लगानी गरेका आयोजनामध्ये ९० दशमलव ६ मेगावाट क्षमताका चार आयोजना सञ्चालनमा आइसकेको उल्लेख छ ।

चालू आर्थिक वर्षभित्रै कुल १८२ मेगावाट क्षमताका थप चार आयोजना सम्पन्न हुने तथा अन्य पाँच आयोजना निर्माणाधीन अवस्थामा छन् । कम्पनीको स्वपूँजीतर्फ कुल एक हजार ५४० मेगावाट क्षमताका पाँच आयोजना तथा चार सम्बन्धित क्षेत्रका कम्पनीमा रू. नौ अर्ब ४५ करोड लगानी गरिसकेको कम्पनीले जानकारी दिएको छ ।

चीन सरकारको स्वामित्वमा रहेको पावर चाइनासँगको सहकार्यमा १५६ मेगावाट क्षमताको माडी जलाशययुक्त जलविद्युत् आयोजना तथा ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भइसकेको पनि कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार भारत सरकारको स्वामित्वमा रहेको एनएचपिसीसँगको सहकार्यमा दुई ठूला आयोजना अगाडि बढाउन सहमतिपत्रमा हस्ताक्षर गरी आयोजना पहिचानको काम भइरहेको छ ।

हाल कम्पनीको अधिकृत पूँजी रू. ५० अर्ब, जारी पूँजी रू. २२ अर्ब र हालसम्मको चुक्ता पूँजी रू. १६ अर्ब ५० करोड पुगेको छ । कम्पनीले हालसम्म रू. आठ अर्ब ३६ करोड कुल आम्दानी गरेको र त्यसमा रू. पाँच अर्ब २२ करोड खुद नाफा गरेको छ । कम्पनीले हालसम्म नेपाल सरकारलाई रू. एक अर्ब ८५ करोड आयकर तिरेको छ भने शेयरधनीलाई रू. छ अर्ब २८ करोड लाभांश वितरण गरेको छ ।

कम्पनीले आगामी आर्थिक वर्ष २०७८/७९ सम्म कुल ३३३९ मेगावाट क्षमताका २३ आयोजनामा रू. १० अर्ब ७६ करोड स्वपूँजी लगानी गर्ने लक्ष्य राखेको बताएको छ । साथै, ऋण लगानीतर्फ कुल २ हजार ८१० मेगावाट क्षमताका थप १४ आयोजना समेत गरी रू. १२ अर्ब ६७ करोड पुर्‍याउने लक्ष राखेको छ । कम्पनीले आगामी १५ वर्षभित्र विद्युत् प्रसारण लाइनतर्फ रू. १०० अर्ब लगानी गर्ने लक्ष्य राखेको पनि जानकारी दिएको छ ।

अघिल्लो वर्षमा ११ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने निर्णय भएअनुसार सरकारका तर्फबाट रू. पाँच अर्ब ५० करोड शेयरबापतको रकम प्राप्त भइसकेको र तीनओटा वित्तीय संस्थाबाट रू. तीन अर्ब ३० करोड प्राप्त हुने प्रक्रियामा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए ।

यसै आवभित्र सर्वसाधारणलाई रू. दुई अर्ब २० करोड बराबरको अग्राधिकार शेयर जारी गर्ने कार्यका लागि कम्पनीको रेटिङ भइरहेको र यही माघ महीनाभित्रै अग्राधिकार शेयरका लागि सूचना जारी गर्ने तयारी भइरहेको पनि पोखरेलले जानकारी दिए । रासस

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार