पुटिनका कट्टर आलोचक नभाल्नीलाई साढे ३ वर्ष जेल

२०७७ माघ २१ बुधबार, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा अभियानकर्मी एलेक्सी नभाल्नीलाई जेल सजाय हुने निर्णय सुनाएएको छ । मस्कोको एक अदालतले नभाल्नीलाई पहिलाको जेल सजायका बेला राखिएका सर्तहरू उल्लङ्घन गरेको भन्दै साढे ३ वर्षको जेल सजाय सुनाएको हो ।

गत महिना जर्मनीबाट रुस फर्किएलगत्तै पक्राउमा परेका उनी त्यसयता हिरासतमै छन् । गत अगस्टमा घातक विष हमलामा परेका नभाल्नीको झण्डै ज्यान गएको थियो र उनले जर्मनीमा उपचार गराएका थिए ।

मस्कोमा हिंसात्मक घटनाहरू भएका छन्- सामाजिक सञ्जालमा देखिएका भिडि‌‌ओहरूमा प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको र पक्राउ गरिरहेको देखिन्छ ।

‘हमलाका दोषी पुटिन’
नभाल्नीलाई पक्राउ गरेर थुनामा राखिएदेखि नै रुसभरका विभिन्न सहरमा दशौँ हजारले विरोध प्रदर्शन गर्दै आएका छन् । नभाल्नीले यसअघि नै घरमै नजरबन्दमा एक वर्ष बिताइसकेका छन् । उक्त अवधिलाई जेलसजायबाट घटाइनेछ ।

मस्कोमा रहेकी सारा रेन्सफोर्डका अनुसार नभाल्नीले उक्त खबरप्रति कडा प्रतिक्रिया जनाएका थिए । अदालतमा नभाल्नीले राष्ट्रपति पुटिनलाई “विष दिने व्यक्ति” भनेका थिए र आफूमाथिको हमलाको दोष पनि उनैलाई लगाएका थिए ।

प्रहरीको बाक्लो उपस्थिति
उनका समर्थकहरूले तत्काल प्रदर्शनको आह्वान गरेका थिए र मस्कोको केन्द्र भाग र सेन्ट पिटर्सबर्गमा प्रहरीको बाक्लो उपस्थिति हुँदाहुँदै सयौं मानिस भेला भएका थिए ।

अनुगमनकर्ताका अनुसार मस्कोमा मात्रै ८०० भन्दा बढीलाई गिरफ्तार गरिएको छ । नभाल्नीका वकिलले अदालतको निर्णयविरुद्ध पुनरावेदन दिने बताएका छन् ।

अदालतले सजाय सुनाएलगत्तै अन्तर्राष्ट्रिय समुदायको कडा प्रतिक्रिया आएका छन् । युरोपेली महादेशकै मानवअधिकारसम्बन्धी अग्रणी निकाय काउन्सिल अफ युरोपले अदालतको फैसलाले “विश्वसनीयतालाई उपेक्षा” गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया
यूकेका विदेशमन्त्री डोमिनिक राबले फैसलालाई “खोटयुक्त” भनि व्याख्या गरेका छन् । त्यस्तै जर्मनीका विदेशमन्त्री हाइको मासले फैसला “दृढ रुपमा स्थापित नागरिक स्वतन्त्रता र कानुनी शासनमाथि धक्का” भएको बताए ।

अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नभाल्नीलाई बिना कुनै सर्त तत्काल रिहा गर्न आह्वान गरेका छ न्। उनले “आफ्ना नागरिकको अधिकार कायम राख्न विफल” भएको प्रति रुसलाई जवाफदेही बनाउन पनि आफ्ना साझेदारहरूसँग निकट रुपमा काम गर्ने बताएका छन् ।

रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पश्चिमा देशहरूलाई प्रतिक्रिया जनाउँदै उनीहरूलाई आफ्नै समस्यामा केन्द्रित हुन भनेकी छन् । “सार्वभौम देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न हुँदैन,” उनले रुसी टिभीलाई भनिन् । -बीबीसी

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार