‘अन्तर्राष्ट्रिय समुदाय मिलेर म्यान्मारको कू विफल पार्नुपर्छ’

२०७७ माघ २२ बिहीबार, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले सोमवार म्यान्मारमा भएको कू विफल हुने सुनिश्चित पार्न विश्व समुदायलाई आह्वान गरेका छन् । उनले चुनावलाई उल्ट्याउनु अस्वीकार्य भएको बताउँदै कू गर्नेहरूलाई देशमा शासन गर्ने तरिका यो होइन भनेर बुझाउनैपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सम्भाव्य वक्तब्यबारे छलफल गर्दैछ, तर कूको निन्दा हुने कुनैपनि शब्द चीनले रोक्ने ठानिएको छ । सेनाले सत्ता हातमा लिनुअघि निर्वाचित नेत्री आङ सान सू चीलाई गिरफ्तार गरेको थियो ।

सूचीविरुद्ध अभियोग दर्ता
म्यान्मारको प्रहरीले सू ची विरुद्ध विभिन्न अभियोगहरू लगाएको छ र फेब्रुअरी १५ तारिखसम्म उनी हिरासतमा रहनेछिन् ।

सत्ता हातमा लिइएपछि सू ची र राष्ट्रपति विन मिन दुवैका तर्फबाट कुनै किसिमका प्रतिक्रियाहरू आएका छैनन् । एक वर्षका लागि सङ्कटकाल लागु गरेको सेनाले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने बताएको छ ।

गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको आरोप सेनाले लगाएको छ । उक्त चुनावमा सू चीको न्याश्नल लिग फर डेमोक्रेसीले अत्यधिक मत ल्याएको थियो । सेनाले फेसबुकलाई बन्द गर्न निर्देशन दिएको खबरहरू आएका छन् । सामाजिक सञ्जालहरूले स्थायित्वको पुनर्स्थापनामा बाधा पुर्‍याएको भन्दै सेनाले त्यस्तो निर्देशन दिएको हो ।

बिहीवार प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा पहुँच नभएको बताएका थिए । कूको विपक्षमा बनाइएको फेसबुक पेजमा दशौँ हजार लाइकहरू आएका छन् ।

पूर्ण रुपमा अस्वीकार्य
संयुक्त राष्ट्रसङ्घका महासचिवले म्यान्मारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न आह्वान गरेका छन् । उनले यो विषयलाई लिएर सुरक्षा परिषद्‌मा एकता हुने आशा रहेको बताए ।

;यो कू विफल बनाउन म्यान्मारमाथि पर्याप्त दबाब दिनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रमुखहरूलाई परिचालन गर्न आवश्यक सबै हामी गर्नेछौँ,’ उनले भने । ‘जनचाहना र चुनावको परिणामलाई उल्ट्याउनु पूर्ण रुपमा अस्वीकार्य छ ।’ ‘म आशा गर्छु कि म्यान्मारको सेनालाई देश चलाउने तरिका यो होइन भनेर बुझाउन सम्भव छ ।’

पश्चिमा देशहरूले कू को निन्दा गरेका छन् तर समान धारणा राखेर वक्तब्य निकाल्न भने चीनले नमानेपछि सुरक्षा परिषद्को प्रयास विफल भएको छ । भिटो अधिकार प्रयोग गर्नसक्ने परिषद्का पाँच स्थायी सदस्य देशमध्ये चीन पनि एउटा हो । बीबीसी

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार