‘ओलीले हाम्रो बन्द विफल पार्न प्रहरी दमन बढाए’

२०७७ माघ २२ बिहीबार, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वकी नेतृ अष्लक्ष्मी शाक्यले केपी शर्मा ओलीले आफूहरुको हड्ताल विफल पार्न भएसम्मको शक्ति परिचालन गरेको आरोप लगाएकी छन् ।

बिहीबार बिहान आमहड्ताल सफल बनाउन सडकमा निस्किँदा प्रहरी नियन्त्रणमा परेकी नेतृ शाक्यले आफूहरुको आमहड्ताल कुनै पनि हिसाबबाट सफल हुने दाबी पनि गरिन् । ‘केपी ओलीले हाम्रो आन्दोलनलाई असफल पार्नको लागि भएभरको शक्ति परिचालन गरेका छन्’, अहिले महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा रहेकी नेतृ शाक्यले खबरकुञ्जसँग भनिन्, ‘उनले हाम्रो हड्ताल चाहिँ सफल नहोस् भन्ने चाहन्छन् । तर, हाम्रो बन्द शान्तिपूर्ण छ । जुनसुकै हिसाबमा पनि सफल हुन्छ ।’

यस्तै नेतृ शाक्यले ओली निरङ्कुशताको बाटोमा हिँडेको पनि बताएका छन् । लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन जसले पनि गर्न पाउने भन्दै नेतृ शाक्यले भनिन्, ‘ओली निरङ्कुशताको बाटो हिँडे । प्रतिगमनकारी यिनलाई जनताले चिनिसके ।’

नेतृ शाक्यसहित करिब ५० जना बिहान काठमाडौंबाट प्रहरी नियन्त्रणमा रहेका छन् । बन्दहड्ताल सफल बनाउने भन्दै सडकमा निस्किएका उनीहरुलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।

दुई जना गम्भीर घाइते
नेतृ शाक्यकी अनुसार दुई जना कार्यकर्ता गम्भीर घाइते भएका छन् । कमला गौतम र राजकुमार तामाङ प्रहरीको मिचाइबाट गम्भीर घाइते भएका हुन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार