शुक्रबारको सभामा सवा २ लाख उपस्थित थिए : रिमाल

२०७७ माघ २४ शनिबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले शुक्रबार ओलीले आयोजना गरेको आमसभामा सवा दुई लाख मानिसहरु उपस्थित भएको बताएका छन् । शनिबार नुवाकोट–काठाडौँ सम्पर्क मञ्चको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिमालले यस्तो बताएका हुन् ।

उनले आफूले दुई/तीन पटक मञ्चमा उभिएर हेर्दा करिब सवा दुई लाख मानिसहरुको उपस्थिति रहेको ठम्याएको बताएका हुन् । आफू टेक्निकल हिसाब गर्ने व्यक्ति भएको बताएका रिमालले भनेका छन्, ‘त्रिचन्द्रबाट नारायणहिटीसम्म एक किलोमिटर होला, चौडाई ७० मिटर होला । त्यसको क्षेत्रफल ५ लाख बर्गफिटभन्दा बढी हुन्छ । एउटा मान्छे कति ठाउँ ओगट्यो होला ? सामान्यतया बस्दा २ फिट हुन्छ, ६ फिट राखेर हिसाब गर्दा त्यहाँ १ लाख २४ हजार मान्छे अट्छन् ।’

यस्तै रिमालले सञ्चयकोष साइडमा उत्तिकै मात्रामा मानिसहरुको जम्मा भएको बताए । उनले भनेका छन्, ‘सञ्चयकोषतिर ६०० र जयनेपाल हलतिर ५०० मिटर लम्बाई र ५० मिटर चौडाईमा ९१ हजार मानिस थिए ।’

यसैबीच रिमालले केपी ओली ‘आइ लभ यू’ भन्ने व्यक्ति धेरै देखेपछि ओली भावुक भएकोसमेत बताए । ओलीकोजस्तो क्रेज अरुको नभएको सुनाएका रिमालले थप भनेका छन्, ‘प्रधानमन्त्री केपी ओलीले के गर्‍यो भनेर प्रश्न गर्नेहरु मेरो विचारमा काठमाडौँ खाल्डोमा केही–केही पत्रिकामा कथित विचार लेख्ने र राति सुर हराइसकेपछि ट्वीटर र फेसबूकमा बरालिने मान्छे बाहेक केही छैन । जसले कामको सही मूल्यांकन गर्छन्, उनीहरुले काम भएको देखेका छन् ।’

शुक्रबार ओली नेतृत्वको नेकपाले नारायणहिटी दरबारअगाडि बृहत् आमसभा गरेको थियो । प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सम्बोधन गरेको कार्यक्रममा तीन लाख मानिसहरु उतार्ने यो समूहको दाबी थियो । यद्यपि स्रोतका अुनसार भने करिब १३ हजार जना मात्रै सहभागी भएका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार