‘ओली हारेको हार्‍यै, हामी जितेको जित्यै’

२०७७ माघ २६ साेमबार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई बेलैमा कन्ट्रोल गर्न नसक्नु आफूहरुको गल्ती भएको बताएका छन् । योहो टेलिभिजनमा पत्रकार जीवराम भण्डारीसँग कुराकानी गर्दै आत्मसमीक्षा गरेका प्रचण्डले ओलीलाई बेलैमा कन्ट्रोल गर्न नसक्नु आफूसहित आफ्नो कलिगहरुको ठूलो गल्ती भएको बताएका हुन् । ‘मैले १० वर्षको संकल्प गरेर पार्टी एकता गरेँ । तर, ३ वर्षभित्रै यो दुर्घटना भयो’, प्रचण्डले भनेका छन्, ‘यहाँनेर पनि मैले के भन्न चाहन्छु भने, केपीलाई मात्रै गाली गरेर आलोचना गरेर हामी चोखै छौँ भन्न मिल्दैन । वैज्ञानिक ढङ्गले सोच्दा, वस्तुवादी भएर सोच्दा हामीले बेलैमा केपीलाई कन्ट्रोल गर्न सकेनौँ । नसक्नु पनि त कमजोरी नै भयो नि ।’

व्यवस्था र संविधानलाई नै चुनौती दिनेगरी प्रतिगमनतिर गएकाले केपी नै बढी दोषी भनिए पनि आफूहरु पनि दुधले नुहाएको वा पानीमाथिको ओभानो नरहेको बताउँदै प्रचण्ड थप भने, ‘हामीले पनि कहीँ न कहीँ कमजोरी गरेकै हौँ । हामीसँग त्यतिका बहुमत हुँदा पनि उहाँलाई यतिसम्म प्रतिगमनतिर जान दिनु हाम्रो कमजोरी नै हो । म जनतालाई खुलेर भन्न चाहन्छु । हामीले पनि कहीँ न कहीँ गल्ती गरेका छौँ । हामीले आत्मआलोचना गरेका छौँ ।’

यस्तै प्रचण्डले अब केपीले आफूहरुसँग कुनै पनि हिसाबबाट प्रतिस्पर्धा गर्न नसक्ने बताए । प्रतिगमनतिर गएर केपीले बाजी हारेको बताएका प्रचण्डले भनेका छन्, ‘उहाँ त अब हार्ने मात्रै हो, हामी चाहिँ जित्ने मात्रै हो । उहाँले इतिहासमा कलङ्कको टीका लगाइसक्नुभयो । किनकी हामी सत्यको पक्षमा उभियौँ नि त । जनताको पक्षमा उभियौँ । हामीले सडकमा पलेटी कसेर हामी तपाईँको निम्ति फेरि लड्छौँ भनिसक्यौँ, त्यसैले हामीले जितिसक्यौँ । अब जुलुश, नारा, मान्छे, प्रतिस्पर्धा होइन । उहाँले हामीसँग प्रतिस्पर्धा गर्न सक्नुहुन्न अब । अस्ति तीन लाख ल्याउँछु भन्नुहुन्थ्यो । अहिले हालत के रहेछ त्यो त देखियो । अब त्यो पनि घट्छ, उहाँको ।’

प्रतिगमन नसच्चिएसम्म आफूहरु अगाडि बढिरहने बताएका प्रचण्डले आफूहरुमा रत्तिभर पनि विचलनमा नआएको बताएका छन् । ओलीले देखाएको र्‍याली पञ्चर्‍याली भएको बताउँदै प्रचण्डले दोहोर्‍याएका छन्, ‘उहाँको कुनै प्रतिस्पर्धा छैन हाम्रो । उहाँ हारिसक्नुभयो । हामीले जितिसक्यौँ ।’

आफूहरु इतिहासको रक्षा गर्न र ओली त्यसलाई सिद्ध्याउन लागेको दृष्टान्त सुनाउँदै प्रचण्डले भनेका छन्, ‘हामी जनताको साथमा छौँ । हामीले पुनः एकचोटी जनतासँग जोडिन पाएका छौँ । अब हामीले जित्न मात्रै हौँ । ओलीले हार्ने मात्रै हो ।’

गत ५ पुषमा प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटनको सिफारिस शीतल निवासबाट सदर भएपछि नेपालको राष्ट्रिय राजनीति सडक केन्द्रित छ । तत्पश्चात् राजनीतिक र व्यवहारिक रुपमा छुट्टिएको नेकपाका अध्यक्षद्व ओली र प्रचण्डले समानान्तर सभा–सम्मेलनको आयोजना गरेर एकअर्काविरुद्ध आरोप–प्रत्यारोप लगाइरहेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार